काठमाडौं, जेठ ८ । समाजवाद शब्दसँग नेपाली राजनीतिक दलहरुको विशेष रुझान देखिन्छ । समाजवाद अधिकांश दलको राजनीतिक दर्शनको मियो बनेको छ ।
कतिपयले त पार्टीको नाममै पनि समाजवाद शब्द जोडेका छन् ।
जनताको बहुदलीय जनवाद र २१औं शताब्दीको जनवादलाई राजनीतिक दर्शन बनाएका तत्कालीन नेकपा एमाले र माओवादी केन्द्र एक भएपछि नेकपाले महाधिवेशनसम्म यी दुवै विचारमा छलफल गर्दै जाने नीति बनाएको छ ।
महाधिवेशनअगाडि भने समाजवादउन्मुख जनताको जनवादलाई नेकपाले तत्कालीन कार्यक्रम बनाएको छ ।
नेपाली कांग्रेसले पार्टी स्थापनाकालदेखि नै समाजवादलाई मूलमन्त्र मान्दै आएको छ । उसले पार्टीको झन्डामा भएका चार तारामध्ये एउटालाई समाजवादकारुपमा व्याख्या गरेको छ ।
राजपा नेपालले समाजवादी प्रजातन्त्रलाई पार्टीको आदर्शकारुपमा अघि सारेको छ ।
हालै गठन भएको समाजवादी पार्टी नेपालले आफ्नो पार्टीको नाममै समाजवाद राखेको छ । उसले समुन्नत संघीय समाजवादलाई सिद्धान्तकारुपमा अगाडि सारेको छ ।
प्रतिबन्धित अवस्थामा रहेको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले वैज्ञानिक समाजवादलाई अघि सारेको छ ।
नेपालको संविधानको प्रस्तावनामै समाजवादप्रति प्रतिबद्ध रही समृद्ध राष्ट्र निर्माण गर्ने उल्लेख छ ।
त्यसैगरी, संविधानको धारा ५० मा समाजवादउन्मुख स्वतन्त्र र समृद्ध अर्थतन्त्रको विकास गर्ने उल्लेख छ ।
तर, दलहरुको आचरण र सरकार सन्चालनको परिपाटी समाजवादको सिद्धान्तसँग पटक्कै मेल खाँदैन ।
समाजवादको सुरुआती अवधारणा कम्युनिस्ट दर्शनअन्तर्गत्को साम्यवादमा पुग्ने एउटा आर्थिक प्रणाली हो । यसमा देशको अर्थतन्त्रको उत्पादन र वितरण व्यवस्थापनको स्वामित्व पूर्णतया सरकारमा हुन्छ । यो विचारधारा नमान्नेहरुको बलियो जमात पनि विश्व राजनीतिमा छ ।
यसलाई नस्वीकारे पनि समाज र राज्यमा सबै समान हुनुपर्छ, राज्यका स्रोत–साधन र उत्पादनको प्रतिफलमा सबैको समान हिस्सा हुनुपर्छ भन्ने मान्यतालाई भने सबैले स्वीकार गर्न बाध्य भएका छन् ।
यसैले जुनसुकै राजनीतिक दर्शनमा पनि समाजवादलाई छाडिएको छैन । बरु, कुनै न कुनै फुर्को जोडेर साथै लगिएको छ । प्रजातान्त्रिक, समुन्नत र वैज्ञानिक समाजवाद यसकै उदाहरण हुन् ।
यसैगरी, उदार समाजवादको अवधारणा पनि अगाडि आएको छ । नेपालमा पनि पछिल्लो समयमा विविधताभित्रको एकता, पहिचान र समृद्धिको समाजवादको अवधारणाले प्राथमिकता पाएको छ ।
तर, सरकारमा रहँदा व्यावहारिकरुपले नीति, कार्यक्रम र बजेटमार्फत् किन उनीहरु समाजवाद कार्यान्वयन गर्न सक्दैनन् ? भन्ने प्रश्नमा स्वामी आनन्द अरुण भन्छन्–‘समाजवाद आध्यात्मिक आचरण हो । अध्यात्ममा नगइकन समाजवादमा पुग्न नै सकिँदैन । हाम्रा नेताको व्यवहार आध्यात्मिक नभएकाले पार्टीका दस्तावेज र संविधानमा लेख्दैमा समाजवाद आउँदैन ।’









प्रतिक्रिया दिनुहोस्