Logo २९ भाद्र २०८२, आइतबार | Sun Sep 14 2025


पुष्प मेलामा अवलोकनकर्ताको घुइँचो


0
Shares

काठमाडौं, चैत २० । राजधानीमा जारी पुष्प मेलामा अवलोकनकर्ताको उल्लेख्य घुइँचो लागेको छ ।

१९औं फ्लोरा एक्स्पो २०७२ को तेस्रो दिनसम्ममा ४७ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको र ४९ हजारभन्दा बढीले मेला अवलोकन गरेको आयोजक फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान)ले जनाएको छ ।

तेस्रो दिन शनिबारमात्र २५ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको फ्यानका कार्यबाहक अध्यक्ष दिलिप बादेले जानकारी दिए ।

मेलामा २५ रुपैयाँदेखि १ लाख ५० हजार रुपैयाँसम्म पर्ने विभिन्न मौसमी फूल तथा बोट–बिरुवाहरु कारोबारका लागि राखिएका छन् ।

मेलामा पेलारगोनियम फूल, बन्साइ, कृषिमा प्रयोग हुने साना तथा आधुनिक हातेऔजारको कारोबार अधिक भएको व्यवसायीहरुले बताएका छन् ।

कृषिमा प्रयोग हुने औजारकाबारेमा जानकारी लिनेको संख्या पनि बढ्दै गएको जनाइएको छ ।

कतिपय अवलोकनकर्ता मेलामा विभिन्न किसिमका फूलका बिरुवा छानी–छानी किन्न पाइने कारण र नयाँ–नयाँ फूलका बोट पाइने भएकै कारण आफू हरेक वर्ष हुने मेला अवलोकनका लागि आउने गरेको बताउँछन् ।

मेलामा अहिले बोधीचित्तका बिरुवाको बढी माग रहेका कारण प्रायः सबै स्टलमा यसको बिरुवा राखिएको छ ।

‘स्वच्छ वातावरण र आर्थिक सम्बृद्धिको लागि पुष्प व्यवसाय’ भन्ने मुल नाराकासाथ बिहीबारदेखि सुरु भएको मेलामा मौसमी फूल, आलंकारिक बोट–बिरुवा, कटफलावर, ड्राइफ्लावर, सुनाखरी, कम्पोस्टमल, फूलको गाना, बीउविजन, कृषिऔजार, उपकरण, प्याकेजिङका सामग्री, सूक्ष्म तथा थोपा सिचाइँ प्रविधि र विषाधीका प्रर्दशनी तथा बिक्री कक्ष राखिएका छन् ।

मेलामा कूल ६४ ओटा स्टल राखिएका छन् । प्रतियोगितात्मक प्रदर्शनीमा सहभागी स्टलमध्ये उत्कृष्ट ठहरिएका स्टल तथा व्यवसायीहरुलाई पुरस्कृत पनि गरिएको छ ।