२५ जेष्ठ २०८२, आइतबार | Sun Jun 8 2025


बस दुर्घटना हुँदा एकको मृत्यु ५५ जना घाइते


0
Shares

गौशाला, चैत २९ । महोत्तरीको सदरमुकाम जलेश्वरमा आज बिहान एक यात्रुवाहक बस दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ भने ५५ जना घाइते भएका छन् ।

मृत्यु हुनेमा थर, वतन नखुलेको तर हातमा दीपेन्द्र एन्ड बाचिया ट्याटु लेखिएको, गोरो वर्णको अन्दाजी वर्ष २४/२५ को युवक रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक जनक भट्टराईले बताए ।

धनुषाको जनकपुरबाट महोत्तरीको जलेश्वरका लागि आएको ना२ख८७५२ नम्बरको वीरेन्द्र बस सेवा लेखिएको बस आज बिहान ९ः३० बजे जलेश्वर नगरपालिका–१७ स्थित सिँचाइ कार्यालयको ढोका अगाडि सडकमै दुर्घटनाग्रस्त भएको थियो । सो बसमा ६० जना यात्रु सवार थिए ।

गम्भीर घाइने ११ जनालाई उपचारका लागि अञ्चल अस्पताल जनकपुर पठाइएको छ भने १५ जनाको उपचार जलेश्वरस्थित शान्ति कम्युनिटी अस्पतालमा भइरहेको छ । बाँकी सबै जनाको उपचार जिल्ला अस्पताल जलेश्वरमा भइरहेको छ ।

त्यस्तै मृतक दीपेन्द्रको शव जलेश्वर अस्पतालमा राखिएको छ । दुर्घटनामा परी केही भारतीय पनि घाइते भएका छन् । तीव्र गतिमा रहेको बसले अर्को गाडीलाई बाटो दिन खोज्दा दुर्घटना भएको थियो । (रासस)