
दिपक श्रेष्ठ/ईमेज
ललितपुर । वाङमय शताब्दी पुरुप सत्यमोहन जोशी सय वर्ष पुगेको अवसरमा सोमबार ललिलतपुर महानगरपालिकामा रथारोहण गराउँदा जोशींप्रति श्रद्धा भाव व्यक्त गर्नेको संख्या उल्लेख्य देखियो ।
मुहारमा मन्द मुस्कान,लवेदा सुरुवाल अनि दुबोको मालामा सजिएका सत्यमोहन सय वर्षको उमेरमा पनि उत्तिकै जोसिलो र चम्किलो मुहारमा देखिन्थे ।
नेपाली सेनाको रिसल्ला सहितको बग्गीमा सवार हुँदा स्थानीयबासी सत्यमोहनको सम्मानमा उर्लिएका थिए ।
मंगलबजारबाट उनलाई बग्गीमा राखेर बाजागाजासहित नगरका विभिन्न स्थान परिक्रमा गराइएको थियो ।
नगरपरिक्रमाका क्रमा नेपाली सेनाको ब्यान्ड टोली, विद्यार्थी, स्काउट, कर्मचारी, विभिन्न दलका नेताहरुको बाक्लो उपस्थिति थियो । विद्यार्थीहरु खुशीमा नाचिरहेका थिए ।
बग्गीमा सवार जोशीबाट सर्वसाधारणले बधाई र शुभकामना दिंदै आशीर्वाद लिएका थिए ।
यसअघि विहान राष्ट्रपति विद्या भण्डारीका तर्फबाट उनको निवासमै पुगेर उनीप्रति शुभकामना व्यक्त गरिएको थियो ।
सस्कृतिविद् सत्यमोहन जोशी एक वर्ष पुगेको अबसरमा ललितपुर महानगरपालिकाले सम्मानमा रथारोहणमा गराएको हो ।
महानगरपालिकाले उनको जन्म शताब्दी मनाउन सम्मान स्वरुप एक वर्षसम्म विभिन्न कार्यक्रम आयोजना गर्ने घोषणा गरेको छ ।
सम्मान ग्रहणपछि बोल्दै शताब्दी पुरुष जोशीले चिन्तामुक्त रहनु नै आफ्नो लामो आयुको रहस्य भएको बताए ।
बाबु शंकरदास जोशी र आमा राजकुमारीका सन्तानको रुपमा १९७७ साल बैशाख ३० गते पाटनको बखुम्बहालमा सत्यमोहन जोशीको जन्म भएको हो ।
उनले त्रिचन्द्र कलेजबाट बीएसम्म अध्ययन गरेका छन् । उनी २०१५ सालमा पुरातत्व र संस्कृति विभागको पहिलो निर्देशक समेत भएका थिए ।
जोशीले नेपाली भाषा, कला र साहित्यमा पुर्याएको योगदानको कदर स्वरुप विभिन्न मान पद्वी र पुरस्कार प्राप्त गरेका छन् ।
सत्यमोहन जोशीले नेपाली समाजलाई पुर्याउनु भएको योगदान अतुलनीय छ । देशलाई गौरवान्वित बनाउने उनको कर्म अमूल्य छन् ।
बहुआयामिक व्यक्तित्व सत्यमोहनको जीवन धेरैका लागि प्रेरणाको स्रोत बन्न सक्छ । जीवन सम्पदा सत्यमोहनको दीर्घ जीवन र सुस्वास्थ्यको शुभकामना ।
प्रतिक्रिया दिनुहोस्