
काठमाडौं, वैशाख २६ । गत वर्ष वैशाखमा गएको भूकम्पले भएको मानवीय तथा भौतिक संरचनाको क्षति र पशुधनको नोक्सानीले गरिबी झन् बढाएको एक अध्ययनले देखाएको छ ।
गरिबी निवारण कोषले रसुवा, सिन्धुपाल्चोक र सिन्धुली जिल्लामा गरेको अध्ययनमा भूकम्पपछि झण्डै १५ देखि २० प्रतिशत घरपरिवार गरिबीको अवस्थामा पुगेको देखिएको हो ।
भूकम्पलगायत प्राकृतिक विपदको सामना र व्यवस्थापनमा सामुदायिक संस्थाहरूको भूमिकासम्बन्धी अध्ययन प्रतिवेदनमा गरिबीको अवस्थामा पुगेका परिवारको जीवनस्तरमा सुधार ल्याउन कोषले अन्य संस्थासँग सहकार्य गर्नुपर्ने सुझाव दिइएको छ ।
कोषले कार्यक्रम लागू भएका जिल्लामा स्थापना गरेको घुम्ती कोष परिचालन, शहरी र गाउँको बजारबीच समन्वय, विपद जोखिम न्यूनीकरणमा ध्यान दिन सके गरिबीको अवस्थामा सुधार ल्याउन सकिने अध्ययनको निष्कर्ष छ ।
विपदले गरिबलाई झन् गरिब बनाएकाले विपद जोखिम न्यूनीकरण नभएसम्म गरिबी निवारण हुन नसक्ने अध्ययन टोलीका प्रमुख विपद् विशेषज्ञ मानबहादुर थापाले बताए ।
विपद जोखिम न्यूनीकरणमा गरिने लगानीभन्दा विपदपछिको कार्य धेरै गुणा महँगो भएकाले यसतर्फ सरकार, गैरसरकारी र दातृ संस्थाहरूले उपयुक्त संरचना र रणनीति बनाउनुपर्ने कोषको सुझाव छ । हरेक वर्ष नेपालमा प्राकृतिक विपद्बाट औसतमा दुई सयदेखि तीन सयको संख्यामा मानिसको मृत्यु हुने दुई लाख ५० हजार मानिस प्रत्यक्ष प्रभावित र तीन अर्बभन्दा बढी क्षति हुने गरेको बताइन्छ ।
प्रतिक्रिया दिनुहोस्