२१ बैशाख २०८२, आइतबार | Sun May 4 2025


सांसदले भने–‘मनिषाको मृत्यु र उद्योगपति केडिया अपहरणबारे जानकारी देऊ’


0
Shares

काठमाडौं, जेठ १४ । व्यवस्थापिका–संसद शुक्रबारको बैठकमा सांसद विक्रम खनालले नवलपरासी बर्दाघाट निवासी मनिषा घर्तीमगरको शंकास्पद मृत्यु र बाराका उद्योगपति सुरेशकुमार केडियाको अपहरणबारे सदनलाई जानकारी गराउन सरकारसँग माग गरे ।

सभामुख ओनसरी घर्तीसँग समय लिई अर्का सांसद् दिलशोभा पुनले नवलपरासी बर्दाघाटका मनिषा घर्तीमगरको शंकास्पद मृत्युकाबारेमा उच्चस्तरीय छानबिन समिति गठन गरी छानबिन गर्न र दोषिमाथि कारबाही गर्न माग गरिन् ।

सांसद टेकबहादुर बस्नेतले भूकम्प प्रभावित जनतालाई आवास निर्माण गर्न वर्षात् अगाडि नै र्आिथक रकम वितरण गरिसक्न पुनःनिर्माण प्राधिकरणले ध्यान नदिएको गुनासो गरे ।

सांसद परशुराम तामाङले ‘भूकम्पबाट क्षति भएका एकहजार १८ गुम्बा पुनःनिर्माणमा सरकारको ध्यान जाओस्’–भने ।

सांसद डा. सुवोध पोखरेलले ‘संविधान कार्यान्वयनमा सरकार र दलहरु जिम्मेवार बन्नुपर्छ’–भने ।

सांसद प्रेम सुवालले ‘नेपालको सीमामा भारतीय प्रहरी आउन भारत सरकारले रोक्नुपर्छ’–भने ।

सांसद जनकराज जोशीले निजामती सेवालाई राजनीतिकरणले तहस–नहस पारेको चर्चा गर्दै निजामती सेवामा ट्रेड युनियन अधिकार आवश्यक छ कि छैन समीक्षा गर्ने बेला आएको बताए ।

सांसद राजेन्द्रबहादुर अमात्यले बाराका उद्योगपति सुरेशकुमार केडियाको अपहरणकारीको खोजी गरी उनलाई अपहरणमुक्त गर्न सरकारसँग माग गरे ।

सांसद विदुर सापकोटाले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रममार्फत् सांसद गरिब जनताको घर आँगनमा पुगिरहेको हुँदा यस्ता लोकप्रिय कार्यक्रमलाई बन्द नगर्न माग गरे ।

अर्का सांसद नारायणबहादुर कार्कीले संविधान कार्यान्वनमा राजनीतिक दलहरु गम्भीर बन्न आग्रह गरे ।

सांसद लालबहादुर रावलले बझाङ जिल्लालाई सुख्खाग्रस्त जिल्ला घोषणा गर्न माग गरे ।

बैठकमा बाढी–पहिरोले पुर्‍याएको जनधनप्रतिको क्षतिप्रति गम्भीर बन्न सभामुख ओनसरी घर्तीले सरकारको ध्यानाकर्षण गराएकी थिइन् ।

शून्य समय
सांसदले भूकम्पबाट अति प्रभावित ३१ जिल्लामा भूकम्पपीडित जनता आवास निर्माणका लागि रकम विनियोजन गर्न, पुनःनिर्माण प्राधिकरणले भूकम्पबाट भत्किएका घर क्षतिको लागत संकलनमा धेरै छुटेको भन्दै सदन र सरकारको ध्यानाकर्षण गराए ।

व्यवस्थापिका–संसदको शुक्रबारको बैठकको शून्य समयमा सांसदहरुले ज्येष्ठ नागरिक आन्दोलनमा रहेका हुँदा माग सम्बोधन गर्न, स्थानीय निकायलाई प्रभावकारी बनाउन र सडकलाई सुरक्षित बनाउन माग गरे ।

आफ्नो धारणा राख्नेमा कृष्णप्रसाद पौडेल, कृष्णभक्त पोखरेल, गणेश पहाडी, गणेशसिंह ठकुन्ना, गणेशमान गुरुङ, गुरुप्रसाद बुर्लाकोटी, गौराप्रसाई कोइराला, चुडामणि बुर्लाकोटी, जगदीशनरसिंह केसी, जीतबहादुर दर्जी मगर, तुलाराज विष्ट, डिल्लीप्रसाद काफ्ले थिए । रासस