२१ बैशाख २०८२, आइतबार | Sun May 4 2025


कांग्रेस सत्तामा पुग्ने प्रयास भइरहेको छ : महत


0
Shares

भक्तपुर, जेठ १५ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. प्रकाशशरण महतले सरकारले ल्याउन लागेको लोकप्रिय भनेर चर्चा गरिएको बजेटदेखि कांग्रेसले तर्सनु नपर्ने बताएका छन् ।

कांग्रेस मध्यपुर थिमिनगर समितिले शनिबार भक्तपुरमा आयोजना गरेको नगरस्तरीय अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा उनले ‘सरकारको लोकप्रिय भनिएको बजेटदेखि तर्सनु पर्दैन, यो बजेट आउँछ तर कार्यान्वयन हुँदैन’–भने ।

कांग्रेस सत्तामा जाने अवसरको प्रतीक्षामा रहेको बताउँदै नेता डा. महतले भने–‘कांग्रेस सधैं प्रतिपक्षमा बस्छ भन्ने छैन, गणपूरक संख्या पुगेको दिन सत्तामा जान्छ, त्यसको प्रयास भइरहेको छ ।’

कार्यक्रममा कांग्रेसका अर्का केन्द्रीय सदस्य मीन विश्वकर्माले संविधान कार्यान्वयनमा चुनौती रहेकाले यसतर्फ सबै केन्द्रित हुनुपर्नेमा जोड दिए ।

त्यस अवसरमा कांग्रेस भक्तपुरका जिल्ला सभापति दुर्लभ थापा, पूर्वजिल्ला सभापति गणेशमान चक्रधर र महेश श्रेष्ठ, महासमिति सदस्य मदनकृष्ण श्रेष्ठ, कांग्रेस क्षेत्र नम्बर–१ का सभापति जीवन खत्री, क्षेत्र नम्बर–२ का सभापति नारायण खायमलीलगायतले कांग्रेसलाई एकढिक्का बनाएर लैजानुपर्नेमा जोड दिए ।

कार्यक्रममा सहभागीलाई पार्टीका केन्द्रीय सदस्य विश्वकर्मा र उत्तरकमार चापागाइँले प्रशिक्षण दिएका थिए । रासस

फाइल फोटो