
काठमाडौं, जेठ १५ । सरकारले आर्थिक वर्ष २०७३/४७ को बजेट सार्वजनिक गरेको छ ।
शनिबार व्यवस्थापिका–संसद बैठकमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले १० खर्ब ४८ अर्ब ९२ करोड १३ लाख ५४ हजार रुपैयाँको बजेट प्रस्तुत् गरेका हुन् ।
संविधानमा व्यवस्था भएबमोजिम पहिलोपटक जेठ १५ मा प्रस्तुत् बजेटमा पुनःनिमाण, पूर्वाधार विकास, उर्जा, कृषि र सामाजिक सुरक्षालाई उच्च प्राथमिकता दिइएको छ ।
कुल विनियोजित बजेटमध्ये चालुतर्फ ६ खर्ब १७ अर्ब १६ करोड ४१ लाख २९ हजार र पूँजिगततर्फ ३ खर्ब ११ अर्ब ९४ करोड ६३ लाख २५ हजार रुपैयाँ विनियोजन गरिएको छ ।
कुल बजेटका लागि राजस्वबाट ५ खर्ब ६५ अर्ब ८९ करोड ६५ लाख, साँवा फिर्ता प्राप्तिबाट १० अर्ब, र वैदेशिक अनुदानबाट १ खर्ब १० अर्ब ८९ करोड र वैदेशिक ऋणबाट १ खर्ब ९५ अर्ब ७१ करोड ५७ लाख ३७ हजार जुट्ने अनुमान गरिएको छ ।
थप रकम आन्तरिक ऋण र चालु आर्थिक वर्षको नगद मौज्दातबाट व्यवस्थापन गरिने घोषणा गरिएको छ ।
बजेटमा २०७३ आर्थिक समृद्धितर्फ प्रारम्भको वर्ष हुने घोषणा गर्दै ६ दशमलव ५ प्रतिशत आर्थिक बृद्धिदर हासिल हुने लक्ष्य लिइएको छ ।
यस्तै, मुद्रास्फिति ७ दशमलव ५ प्रतिशतमा सीमित गर्ने लक्ष्य लिइएको छ ।
बजेटमा पुनःनिमाणका लागि १ खर्ब ४० अर्ब ६६ करोड रुपैयाँ विनियोजन गरिएको छ ।
यस्तै, भूकम्पपीडितहरुका लागि घर निर्माण गर्न तीन लाख रुपैयाँ बिना ब्याज अनुदान उपलब्ध गराउने व्यवस्था मिलाइएको छ ।
बजेटमा पूर्वाधार विकासलाई उच्च प्राथमिकता दिँदै काठमाडौं–निजगढ द्रुतमार्गका लागि १० अर्ब, हुलाकी राजमार्गलाई सात अर्ब, ११ जिल्लामा समृद्ध तराई–मधेस सिँचाइ अभियानका लागि दुई अर्ब रुपैयाँ विनियोजन गरिएको छ ।
यस्तै, पोखरा र भैरहवामा विमानस्थल निर्माण, जलाशययुक्त आयोजना निर्माण, सिक्टा, बाग्मती सिँचाइ जस्ता आयोजनाका लागि बजेट विनियोजन गरिएको छ ।
बजेटमा गाउँपालिकामा जाने रकमलाई दोब्बर गर्दै १५ अर्ब रुपैयाँ विनियोजन गरिएको छ ।
‘आफ्नो नगर आफैं बनाऔं’ अभियान सन्चालन गर्ने भन्दै रकम बढाइएको छ ।
यसैगरी, सांसद विकास कोषको रकम ५० लाख पुर्याइएको छ भने निर्वाचन क्षेत्र विकास कोषको रकम बढाएर तीन करोड पुर्याइएको छ ।
बजेटमा सामाजिक सुरक्षालाई उच्च प्राथमिकता दिँदै सामाजिक सुरक्षा रकममा दोब्बर बृद्धि गरिएको छ ।
यस्तै, आगामी तीन वर्षभित्र जनताको स्वास्थ्य बिमा कार्यक्रम अघि बढाउने घोषणा गरिएको छ ।
बजेटले ग्रामीण क्षेत्रका नागरिकलाई महसुस हुनेगरी कृषिको आधुनिकीकरणमा जोड दिएको छ ।
कृषिको आधुनिकीकरणका लागि ५ अर्ब ७८ करोड रुपैयाँ तथा प्रधानमन्त्री कृषि परियोजनाका लागि ५ अर्ब रुपैयाँ विनियोजन गरिएको छ ।
बजेटले सिँचाइ नहरमा सोलार प्यानल जडान, आगामी वर्ष मेलम्ची खानेपानी आयोजना निर्माण सम्पन्न, प्रत्येक प्रदेशमा रंगशाला निर्माण, एक गाउँ एक चिकित्सकका लागि मेडिकल शिक्षामा छात्रवृत्ति, वीर अस्पताललाई पाँच सय रोपनी क्षेत्रमा विस्तार, भक्तपुरको सल्लाघारीमा स्वास्थ्य प्रयोगशाला र मिर्गौला प्रत्यारोपण केन्द्र स्थापना, शून्य ‘ब्यालेन्स’मा बैंक खाता खोल्ने व्यवस्थालगायतका विषयलाई बजेटमा समेटिएको छ ।
बजेटले यो वर्ष चार लाख रोजगारी सिर्जना हुने अनुमान गरेको छ ।
यस्तै, पत्रकारहरुका लागि सरकारी अस्पतालमा ५० प्रतिशत छुटमा उपचार हुने व्यवस्था गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्