
काठमाडौं, जेठ १५ । तीन वर्षमा योगदानमा आधारित् स्वास्थ्य बिमा कार्यक्रम सबै जिल्लामा सन्चालन गर्ने अति महत्वाकांक्षी कार्यक्रम सरकारले सार्वजनिक गरेको छ ।
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले शनिबार सार्वजनिक गरेको आर्थिक वर्ष २०७३/७४ बजेट वक्तव्यमा सो कार्यक्रम सार्वजनिक गरिएको हो ।
इलाम, बागलुङ र कैलाली जिल्लाबाट सुरु भएको सो कार्यक्रम आगामी वर्ष झापा, रौतहट, चितवन, भक्तपुर, पाल्पा, म्याग्दी, कास्की, जाजरकोट, जुम्ला, बैतडीलगायत २५ जिल्लामा सन्चालन गरिने बजेट वक्तव्यमा उल्लेखित छ ।
यसको लागि बजेट रु दुई अर्ब ५० करोड विनियोजनसमेत भएको छ ।
भूकम्प प्रभावित १४ जिल्लामा लागू गरिएको ‘एक गाउँ एक चिकित्सक’ कार्यक्रमलाई प्रभावकारी बनाउन सोही गाउँका प्रवेश परीक्षा उत्तीर्ण गर्ने विद्यार्थीलाई छात्रवृत्तिमा एमबीबीएस पढाउने प्रबन्ध गरिएको, सबै अस्पताल तथा स्वास्थ्यचौकीमा आवश्यक उपकरण तथा जनशक्ति अभाव हुन नदिने बजेट वक्तव्यमा उल्लेख गरिएको छ ।
वीर अस्पताल काठमाडौंभित्रको उचित स्थानमा विस्तार गरी अन्तर्राष्ट्रियस्तरको सुविधा सम्पन्न अस्पताल बनाइने, भक्तपुरको सल्लाघारीमा आधुनिक स्वास्थ्य प्रयोगशाला र मिर्गौला उपचार केन्द्र स्थापना गरिने, सुरक्षित प्रसूति सेवालाई निःशुल्क गराइ सघन आकस्मिक प्रसूति सेवा र नवजात शिशुसेवा सबै जिल्लामा विस्तार गरिने बजेट वक्तव्यमा उल्लेख गरिएको छ ।
वक्तव्यमा महिला स्वास्थ्य स्वयम्सेविकालाई प्रदान गरिँदै आएको पोशाक खर्च रु एक हजार पाँचसय बृद्धि र उनीहरूलाई स्वास्थ्यको बिमासमेत गरेको छ । हाल महिला स्वयम्सेविकाको संख्या पाँच हजारभन्दा बढी छ ।
सात लाख बालबालिकालाई ११ प्रकारका रोगविरुद्ध खोप निःशुल्क लगाइने, सिंहदरबार वैद्यखानाको औषधि उत्पादन प्रक्रियामा असल उत्पादन प्रक्रियामा लगिने, विपन्न नागरिकलाई आठ प्रकारका रोगहरूको निःशुल्क उपचार अनुदान दिन रु १ अर्ब विनियोजन बजेटले गरेको छ ।
गरिबीको रेखामुनिका नागरिकलाई देशभित्रका सरकारी अस्पतालहरूमा क्यान्सर, मुटु, मिर्गाैला र कलेजाको उपचार निःशुल्क गर्ने, सरकारी छात्रवृत्तिमा एमडी र एमएस विशेषज्ञ चिकित्सहरूको निश्चित समयसम्म दुर्गम क्षेत्रमा अनिवार्य सेवा गर्नुपर्ने र यसका लागि रु ४५ करोड विनियोजनसमेत बजेटमा भएको छ ।
बजेटमा कैलालीको गेटामा दशरथ चन्द स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माण र सन्चालनको लागि रु ४८ करोड विनियोजनसमेत भएको छ । रासस
प्रतिक्रिया दिनुहोस्