
-सन्दीप पौड्याल, इमेज
काठमाडौं, जेठ १६ । देशका बिभिन्न जिल्लामा रहेका होम स्टेहरुको अनुगमन गरिरहेको पर्यटन व्यवसायीहरुको संस्था गाउँ पर्यटन प्रबर्धन मञ्च (भिटोफ) नेपालले पश्चिम नेपालका पांच वटा गाउं प्रर्वद्धन गर्ने भएको छ ।
चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा रहेको नवलपरासीको अमलटारी, बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र डल्ला, शुक्लाफांटा बन्यजन्तु आरक्षसंगैको रानाथारु गाउं, कैलालीको भादा र बांके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा रहेको गाभर भ्याली प्रर्बद्धन गर्न भिटोफले अभियान चलाउने भएको हो ।
सोही अभियान सफल बनाउन भिटोफ नेपालका अध्यक्ष चित्रबहादुर गुरूङको नेतृत्वमा हालै पश्चिम नेपालमा अध्ययन तथा अवलोकन भ्रमण समेत गरिएको छ । बिशेष गरी पश्चिम नेपालका नवलपरासी, बर्दिया, बांके र सुदूरपश्चिमका कैलाली र कञ्चनपुरका थारु होम स्टेहरुमा अवलोकन गरिएको हो ।
टोलीमा पर्यटनकर्मी, होटल व्यवसायी, प्राध्यापक, विदेशीको साथै पत्रकारको समेत उपस्थिती रहेको थियो । नेपाल पर्यटन बोर्डका बरिष्ठ अधिकृत सुधन सुवेदी र नाटोका महासचिव अमरबहादुर शाही पनि भ्रमणमा सहभागि भएका थिए ।
भिटोफले पर्यटन बोर्ड, टान, नाटा र रैका टूर एण्ड ट्राभल्सको सहयोगमा अध्ययन भ्रमण गरेको हो । गाउँ पर्यटन प्रबर्धन गर्ने हिसाबले हिँडेको टोलीले नवलपरासीको अमलटारी, बर्दियाको डल्ला, कञ्चनपुरको शुक्लाफाँटा र कैलालीको भादा गाउँका थारु होमस्टेमा रात विताएको थियो ।
त्यस्तै कैलालीको टीकापुर र बाँकेको गाभर भ्याली समेत अध्ययन गरेर फर्केको छ । लमजुको काउलेपानी, कास्कीको ह्याजाकोट, तनहुंको तनहुसुर लगायतका होमस्टेहरुमा सहयोग गर्दै आएको भिटोफले पश्चिम नेपालका थारु होमस्टेहरु उतकृष्ट गन्तव्य भएको जनाएको छ । भिटोफ नेपालका महासचिव राजकुमार थापाले अबको गन्तव्य भनेको पश्चिम नेपाल रहेकोले सबै क्षेत्रबाट यसको प्रचारमा जुट्नुपर्ने बताए ।
भिटोफले आफ्ना सदस्यहरु मर्फत प्याकेज बनाएर स्वदेश तथा विदेशका पर्यटकहरुलाई ति क्षेत्रहरुमा घुमाउने प्रतिबद्धता समेत जनाएको छ । टोलीका सदस्यहरूले गाउँ अध्ययनका साथै होमस्टे सञ्चालकहरुसँग अन्तरक्रिया गरेका थिए ।
त्यसक्रममा पर्यटन विकास समाज (टिडिएस) ले धनगढीमा आयोजना गरेको कार्यक्रममा भिटोफका प्रतिनिधिहरुले सुदूर तथा मध्यपश्चिमका गन्तव्यहरुको मार्केटिङ गर्ने प्रतिबद्धता जनाए ।
अन्तरक्रिया कार्यक्रममा सुन्दर सुदूरपश्चिम अभियानका अभियन्ता गोपी हमाल, नाटोका महासचिव अमरबहादुर शाही, भिटोफका अध्यक्ष चित्रबहादुर गुरुङ, पर्यटन बोर्डका बरिष्ठ अधिकृत सुधन सुबेदी, टिडिएसका अध्यक्ष कृष्णबहादुर महरा, टानका केन्द्रीय सदस्य संगम शेर्पा, नाटा फारवेस्टका माया प्रकाश भट्ट, क्याप्टेन वेद उप्रेतीलगायतले पश्चिमको पर्यटन विकासमा सरोकारवालाले हातेमालो गर्नुपर्नेमा जोड दिएका थिए ।
कुन छ त उत्कृष्ट ?
पश्चिम नेपालमा थारुहरुको बाहुल्यता रहेपनि हरेक स्थानका थारुहरुको आ–आफ्नै रहन सहन र भेषभुषा रहेको छ । पछिल्लो समय होमस्टे अर्थात घरबास कार्यक्रममा सरकारी निकायबाटै सहयोग बढ्न थालेपछि होमस्टे संचालन गर्नेहरु समेत बढ्न थालेका हुन् ।
होम अर्थात घर र स्टे अर्थात बास बस्नु हो । यसैलाई होमस्टे भनिएको हो । पश्चिम तराईमा भर्खरै मात्र होमस्टेहरु संचालन भएकोले यहांका बासिन्दाहरु सिक्ने क्रममा नै छन् ।
अति गरिविमा रहेका यहांका बासिन्दाहरु बल्ल होमस्टे मार्फत खुलेर समुदायमा बोल्न सक्ने भएका छन् । कुनै थारु होमस्टे आफ्नै पहलमा सक्षम बनिसकेका छन् भने कुनैलाई सहयोगी हातको खांचो छ ।
नवलपरासीको अमलटारी होमस्टे संचालनको छोटो समयमा नै उत्कृष्ट गन्तव्य बन्न सफल भईसकेको छ भने राना थारु होमस्टे अझै सहयोगको पर्खाइमा रहेको छ । पछिल्लो समय बेलायती राजकुमार ह्यारी बर्दियाको डल्ला होमस्टेमा बास बसेसंगै थारु होमस्टेको चर्चा बढी हुन थालेको हो ।
अमलटारी मध्यवर्ती होमस्टे
पश्चिम नेपालमा रहेका थारु होमस्टेहरु मध्ये नवलपरासीको अमलटारी तीन बर्ष यता मात्र शुरु भएको हो । जहां अहिलसम्म २० हजारभन्दा बढी आन्तरिक तथा बाह्य पर्यटकले अवलोकन गरिसकेका छन् ।
चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षत्रेमा रहेको कावासोती नगरपालिका–१५ स्थित यो होमस्टे २०७० जेठ ५ गतेदेखि सञ्चालनमा ल्याईएको हो । यहाँ सञ्चालनमा रहेका सबै होमस्टे थारु समुदायले सञ्चालन गरेका हुन । उक्त होमस्टेलाई तराई–भू परिधि कार्यक्रमले सहयोग गरेको हो ।
हरेक घरमा अट्याच्च बाथरुम सहितको दुई कोठा छन् । होमस्टे सञ्चालन गरिएको उक्त गाउँमा बोटे, माझि र कुमाल समुदायको बसोबास छ । गाउँ नजिकै १ कि.मीको दुरीमा रहेको चितवन राष्ट्रिय निकुञ्जको अमलटारी मध्यवर्ति क्षेत्रको घना जंगलमा पाइने गैंडा, बाघ र अन्य जनावरसँगै चराचुरीङ्गीले पर्यटकको मन लोभ्भाउने गर्छ ।
जंगलमा ३० वटा गैंडा र ६ वटा पाटे बाघ देखिने गरेको छ । यहां पुग्ने पर्यटकले लोकल कुखुरा, हाँसको मासु र स्थानीय परिकार खान पाउंछन् भने जंगल सफारी, डुंगा, गाढा सयरको मनारञ्जन लिन सक्छन् ।
जैबिकमार्ग डल्ला होमस्टे
थारु समुदायले संचालनमा ल्याएको अर्को होमस्टे हो डल्ला । बर्दियाको सूर्यपटुवामा रहेको डल्ला होमस्टमा वेलायती राजकुमार ह्यारीको आगमन पछि पर्यटक आगमनमा बृद्धि भएको छ । सँस्कृति, पर्यटन तथा नागरिक उड्यान मन्त्रालयले डल्ला होमस्टेलाई यो बर्षको नेपालकै एक नम्वर होमस्टेमा राखेको हो ।
शुरुवाती समयमा ११ घरबाट शुरु भएको होमस्टे अहिले २२ घरमा रहेको छ । डल्ला गाउँमा १ सय २० घरपरिवार रहेका छन् । खेतीपातीमा निपूर्ण यि समुदायहरुले सामुदायिक वन संरक्षण गरे सँगै बन्यजन्तु बृद्धि हुन थालेपछि गाउँमा पर्यटकहरु भित्रिन थालेका हुन् ।
होमस्टे बाटै अहिले यहांका थारु समुदायले मनग्य आम्दानी गरिरहेको जैविक मार्ग होमस्टे व्यवस्थापन समितिका अध्यक्ष परशुराम चौधरी बताउनुहुन्छ । बार्षिक स्वदेशी तथा विदेशी गरी ११ हजार पर्यटक भित्रिएको डल्ला होमस्टेमा चार महिना यता ५ हजार भन्दा वढी पर्यटकहरुले अवलोकन भ्रमण गरिसकेका छन् ।
यहां प्याकेजमा आवास, खाना तथा खाजाको ६ सय ५० रुपैयां मात्र रहेको छ । यहांको शिव सामुदायिक वनमा एक सिंगे गैंडा, मृग, पाटे बाघको अवलोकन गर्न सकिन्छ । नजिकै रहेको बर्दिया राष्ट्रिय निकुञ्जमा जीप तथा हात्ति सफारी समेत यहांको अर्को बिशेषता हो । २२ वटा घरमा होमस्टे रहेकोमा अझै २२ वटा थपिने क्रममा छन् ।
भादा गाउँ होमस्टे
कैलालीको उर्मा गाउँ विकास समिति भादा गाउँका बासिन्दाले आफ्नै पहलमा शुुरु गरेको होमस्टे हो भादा । पर्यटन वर्ष सन् २०११ को अवसर पारेर थारु जातिको मात्रै बसोबास रहेको यो गाउँको विधिवत उद्घाटन गरेका भादाबासी यति खेर भने पर्यटनको पखाईमा रहेका छन् ।
होमस्टे उद्घाटन गरे यता हालसम्म १५ सय जति आन्तरिक तथा बाह्य पर्यटकहरुले गाउँको अवलोकन गरिसकेका छन् । यहाँ घुम्न आउने पर्यटनहरुका लागि भादाबासीले विभिन्न प्रकारका थारु परिकारहरु खुवाउने गरेका छन् ।
थारु साकाहारी खाना सेटको ८० रुपैयां र लोकल कुखुरा सहितको मासु खानाको १ सय ८० रुपैयां मूल्य निर्धारण गरेका छन् भने १ प्लेट लोकल कुखुराको १० रुपैयां, १ प्लेट बंगुरको मासुको ६० रुपैयांमा स्वाद लिन सकिने व्यवस्था मिलाएका छन् ।
त्यस्तै थारु नाच हेर्न १ हजार ५ सय रुपैयां तिर्नु पर्छ भने लहरु (गोरुगाडा) मा घुम्न दिनभरिको लागि १ हजार, आधा दिनको लागि ६ सय मूल्य निर्धाण गरेका छन् । यहां पुग्न धनगढीबाट सार्वजनिक तथा भाडाको गाडीमा पुग्न सकिन्छ । स्थानीयबासिन्दाले पर्यटकहरुका लागि १८ वटा घरमा होमस्टे तयार पारेका छन् ।
राना थारु सामुदायिक होमस्टे
नेपालमै पहिलो पटक रानाथारु समुदायले कञ्चनपुरमा राना थारु सामुदायिक होमस्टे शुरु गरेका छन् । राना संस्कृति र परम्परा जोगाउन तथा त्यसको माध्यमबाट आर्थिक उन्नति गर्न भीमदत्त नगरपालिका वडा नम्बर १४ र १६ नयां बस्तीका राना समुदायले होमस्टे संचालनमा ल्याएका हुन् ।
बारसिंगाको बथानका लागि दक्षिण एशियामै प्रख्यात शुक्लाफांटा वन्यजन्तु आरक्षको किनारामै राना समुदायले होमस्टे शुरु गरेपछि पर्यटन गतिविधि बढेको छ । २०७२ मंसिरको अन्तिम साता उद्घाटन भएको नयां शैलीको होमस्टे अवलोकन र भ्रममणका लागि ६ महिनाको अवधिमा पांच सयभन्दा बढी टोली आइसकेको राना थारु सामुदायिक होमस्टेका अध्यक्ष समन रानाले बताए ।
यहाँ आउने पर्यटकका लागि स्थानीयहरुले राना समुदायको संकृति झल्कने नाचहरु समेत देखाउने गरेका छन् । गाउंको चारैतिर पर्यटकहरु रमाउने प्रशस्त ठाउं र सदरमुकाम महेन्द्रनगरबाट करिब ३ किलोमिटरको दुरिमा राना थारु सामुदायिक होमस्टे भएकाले नयां बस्तीको राना होमस्टे चर्चित बन्दैछ ।
होमस्टेले तिन दिनको प्याकेज बनाएर पर्यटकलाई घुमाउने योजना पनि बनाएको छ । होमस्टे संचालनका लागि सहयोग गरेका महेन्द्रनगरका होटल व्यवसायी परमानन्द भण्डारीले दोधारा चांदनीको झोलुङ्गे पुल, शुक्लाफांटा, रानीताल, पिपरैयाको हात्तीसार, हिरापुरको कृष्णसार संरक्षण केन्द्र, बेदकोट ताल, झिलमिला ताल, बाबाताल, सिंहपाल मन्दिर जस्ता पर्यटकीय ठाउँहरु रहेको बताए ।
राना थारु होम स्टेमा सादा खाना १ सय ३०, मासु खाना साढे दुई सय र बासको प्रतिकोठा ४ सय तिर्नुपर्छ । यहां अहिले ८ घरमा होमस्टे संचालनमा छन् ।
गाभर भ्याली सामुदायिक होमस्टे
बाघ संरक्षणका उदेश्यले स्थापित बांके राष्ट्रिय निकुञ्ज तथा चुरे पहाडले घेरेको भावर क्षेत्रमा पर्ने गाभर भ्याली पर्यटकीय आकर्षणको केन्द्र बिन्दु हो । बांके जिल्लाको कोहलपुर चौराहदेखि ७ किलो मिटर उत्तर सुर्खेत रोडमा पर्ने चिसापानी गाविसको वडा नम्बर ९ मा अवस्थित गाभर भ्याली जैबिक बिबिधताले भरिपूर्ण छ । यस क्षेत्रमा दुर्लभ बन्य जन्तु पाटे बाघ, चौसिंघा, हात्ती, बाह्र सिंगे, निल गाई लगायतका वन्यजन्तुको बासस्थान रहेको छ ।
यहांसम्म पुग्न काठमाडौंबाट चिसापानी चोकसम्म गाडीमा र चिसापानी चोकबाट गाभर भ्यालीसम्म डेढ किलो मिटर पैदल यात्रा गर्न सकिन्छ । यहां थारु नाच, डेउडा नाच, पञ्चेवाजा, ढाल तरबार नाचको मज्जा लिन पाइन्छ । गाभर भ्यालीमा पांच वटा घरमा होमस्टे संचालन गरिएको छ ।
थारु होमस्टेका सम्पर्क व्यक्ति
अमलटारी होमस्टे : प्रेम शंकर थारु(अध्यक्ष) – ९८०२६३७८२५
डल्ला होमस्टे : मंगल थारु(अध्यक्ष) – ९८४८२५४८३६
भादा होमस्टे : लक्ष्मी नारायण चौधरी(अध्यक्ष) –९८११६६२३३१, ९७४९०२८००४
राना थारु होमस्टे : चेतराम राना थारु(सचिव) – ९८४८७०५४४७
गाभर भ्याली होमस्टे : कृष्णलाल चौधरी(अध्यक्ष) –९८५८०२६५१७, ९८४८०९२०३२
प्रतिक्रिया दिनुहोस्