
नवलपरासी, असार ६ । तराई–मधेस लोकतान्त्रिक पार्टीको प्रथम महाधिवेशन नवलपरासीको सदरमुकाम परासीमा आजबाट शुरु हुँदैछ । महाधिवेशनको उद्घाटन अध्यक्ष महन्थ ठाकुरले गर्ने कार्यक्रम रहेको छ ।
कार्यक्रममा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, राप्रपा नेता पशुपति शम्शेर राणालगायतका नेताहरुको उपस्थिति रहेको छ ।
प्रधानमन्त्री, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नयाँ शक्तिका संयोजक डा.बाबुराम भट्टराई लगायतका नेतालाई भने निमन्त्रणा पठाएपनि उनीहरु अझै उपस्थित नभएको तमलोपाले जनाएको छ ।
महाधिवेशनको उद्घाटनमा भारत, चीन, युरोपियन युनियनलगायत देशका प्रतिनिधि र कूटनीतिक नियोगका अधिकारीसमेत सहभागी हुने कार्यक्रम छ ।
२०६४ साल पुस १३ गते स्थापना भएको तमलोपाले नौ वर्षपछि महाधिवेशनको आयोजना गरेको हो । यो महाधिवेशनबाट फेरि अध्यक्ष पद महन्थ ठाकुरले नै सम्हाल्ने तमलोपाले जनाएको छ ।
अन्य पदमा भने प्रतिस्पर्धा हुने बताइएको छ ।
५७ सदस्यीय केन्द्रीय समितिलाई बढाएर महाधिवेशनले ७१ सदस्यीय बनाउन लागेको वरिष्ठ उपाध्यक्ष हृदयश त्रिपाठीले जानकारी दिए ।
महाधिवेशनमा जुम्ला, काठमाडौं, ललितपुर, भक्तपुर र तराईका २२ गरी २६ जिल्लाका एकहजार ३४ जिल्ला प्रतिनिधि सहभागी छन् । महाधिवेशनमा नेपाली राजनीति, मधेसी समाज, मधेसी राज्य, आदिवासी, जनजातीका अन्तर सम्बन्ध, देशी विदेशी प्रभावलगायतको एजेण्डामाथि छलफल गरि दस्तावेज निर्माण गरिने तमलोपाले जनाएको छ ।
तीनदिने महाधिवेशन बुधबार सकिने छ ।
प्रतिक्रिया दिनुहोस्