२३ बैशाख २०८२, मंगलबार | Tue May 6 2025


मन्त्रालयगत् बजेटमाथि छलफल सुरु, मजदुर किसान पार्टीद्धारा सरकारको आलोचना


0
Shares

काठमाडौं, असार ६ । व्यवस्थापिका–संसदमा विनियोजन विधेयक, २०७३ का विभिन्न शीर्षकमाथिको छलफल सोमबारदेखि प्रारम्भ भएको छ ।

सोमबारको बैठकमा वाणिज्य, विज्ञान तथा प्रविधि, जनसंख्या तथा वातावरण, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, सिँचाइ, सामान्य प्रशासन र पशुपक्षी विकास मन्त्रालयको विनियोजन शीर्षकमाथि छलफल सुरु भएको छ ।

सदनको दोस्रो बैठकमा पहिलो वक्ताकारुपमा भाग लिँदै नेपाल मजदुर किसान पार्टीका सांसद प्रेस सुवालले मुलुकको महत्वपूर्ण धरोहरकारुपमा रहेका सांस्कृतिक सम्पदाको संरक्षणका लागि आवश्यक बजेट विनियोजन नभएकामा सरकारको आलोचना गर्दै खर्च कटौतीको प्रस्ताव प्रस्तुत् गरे ।

सोही पार्टीका सांसद अनुराधा थापामगरले विनियोजन विधेयक, २०७३ अन्तर्गत् जनसंख्या तथा वातावरण, सिँचाइ, आपूर्ति र पशुपक्षी विकास मन्त्रालय शीर्षकको खर्च रकममा उल्लिखित खर्च रकम घटाइयोस् भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत् गरिन् ।

तराईमा बढिरहेको जनसंख्या र बसोबासको चापले सुरक्षा र वातावरणमासमेत नकारात्मक प्रभाव परिरहेको बताउँदै उनले अत्यावश्यक खाद्यपदार्थ बिक्री–वितरणमासमेत मिसावट व्याप्त रहेकामा चिन्ता व्यक्त गरिन् ।

प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता डा. रामशरण महतले ‘पर्यटन अत्यन्त सम्भावना भएको तुलनात्मक लाभको क्षेत्र भएपनि युरोपेली समुदायबाट नेपालको हवाई क्षेत्रकाबारेमा लामो समयदेखि प्रश्न उठिरहनु लज्जाको विषय हो’–भने ।

अघिल्लो सरकारले घोषणा गरेको ‘हाम्रो धरोहर हाम्रो दायित्व’ कार्यक्रमलाई समाप्त पार्न खोजिएको हो कि ? भन्ने प्रश्न गर्दै उनले अघिल्लो सरकारले ल्याएका कार्यक्रमलाई हटाइएकामा आपत्ति जनाए ।

वैदेशिक व्यापार घाटा बढिरहेको तथ्यांक प्रस्तुत् गर्दै डा. महतले वार्षिक आयात् करिब सात खर्ब रहेको तर, निर्यात् एक अर्ब पनि नपुगेको उल्लेख गरे ।

उनले वैदेशिक व्यापार घाटालाई पूर्ति गर्ने विप्रेषण पनि घटेकाले त्यसतर्फ सरकारको ध्यान जान जरुरी भएको बताए ।

कर्मचारी व्यवस्थापनमा राजनीतिकरण भएको आरोप लगाउँदै उनले भने–‘प्रशासनिक स्थिरता पनि भएन भने सेवा प्रवाह चुस्त बन्न सक्दैन ।’

नेकपा एमालेका सांसद डा. राजन भट्टराईले बजेटको प्रभावकारी कार्यान्वयन भएमा त्यसले मुलुकले चाहेको आर्थिक विकासको उद्देश्य प्राप्त गर्ने विश्वास व्यक्त गरे ।

सरकारले बजेट कार्यान्वयनमा केही तदारुकता देखाउनुपर्ने बताउँदै उनले विप्रेषणमा कमी आउन नदिनेतर्फ सरकारले ध्यान दिनुपर्ने सुझाव दिए ।

विश्व सम्पदा सूचीमा रहेका सम्पदा हेर्न नै विदेशी पर्यटक नेपाल आउने भएकाले त्यस्ता पूर्वाधारमा लगानी बढाउनुपर्ने उनको धारणा थियो ।

नेकपा माओवादी केन्द्रका सांसद रामनारायण विडारीले मुलुकमा निर्यात् बढेकोतर्फ संकेत गर्दै राम्रा र पढे–लेखेका युवाको विदेश पलायन रोक्न वाणिज्य नीति निष्प्रभावी रहेको बताए ।

सांसद भक्तबहादुर विश्वकर्मा खपांगीले सरकारले पर्यटन क्षेत्रलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए ।

सांसद डा. सुबोधकुमार पोखरेलले सांसद विकास कोषबाट युक्तिसंगतरुपमा खर्च हुन नसकेको प्रसंग उठाए । रासस
फाइल फोटो