Logo ३ पुस २०८२, बिहिबार | Thu Dec 18 2025


काबुल आक्रमणः जितेन्द्रको परिवारद्वारा शव घरमै ल्याइदिन आग्रह, को हुन् जितेन्द्र ?


0
Shares

बुटवल, असार ८ । अफगानिस्तानको काबुलमा आतंककारीको आत्मघाती आक्रमणमा परी मारिएकामध्येका रुपन्देहीको बुटवल उपमहानगरपालिका–१३, देवीनगरका ४३ वर्षीय जितेन्द्रसिंह थापाको परिवारजनले जसरी पनि शव घरमै ल्याइदिन आग्रह गरेका छन् ।

अफगानिस्तानको राजधानी काबुलमा आतंककारीको आक्रमणमा त्यहाँ सुरक्षागार्डमा कार्यरत् १२ जना नेपालीको असार ६ गते बिहान निधन भएको थियो । तीमध्ये एकजना रुपन्देहीको बुटवल उपमहानगरपालिका–१३ देवीनगरका हुन् ।

दुई छोराको साथमा रहेकी उनकी पत्नी ३९ वर्षीया गौमतीले घरमा पुगेका अधिकारकर्मी र पत्रकारसित शव घरमै ल्याइदिने व्यवस्था गरिदिन आग्रह गरिन् ।

उनका १९ र १८ वर्षका दुई छोरा यहीँ छन् । घटना हुनुको अघिल्लो दिन छोराहरुसित मृतक जितेन्द्रको कुरा भएको थियो ।

त्यतिबेला उनले काम राम्रै भएको र आउँदो अक्टोबरमा घर आउनसक्ने बताएको कान्छा छोरा बिमलले बताए ।

विमल कक्षा ११ मा अध्ययनरत् छन् भने उनका दाजु मनीष कक्षा १२ को पढाइसँगै बुटवल टेक्निकल इन्स्टिच्यूटमा प्राविधिक तालिम लिइरहेका छन् ।

जितेन्द्र भारतीय सेनाबाट झन्डै ८ वर्षअघि सेवानिवृत्त भएका थिए । यसअघि पनि तीनपटकसम्म अफगानिस्तान जाने–आउने गरेका उनी पछिल्लोपटक गत फागुनमामात्रै त्यहाँ पुगेको परिवारले जनाएको छ ।

त्यसअघि इराकमा पनि उनी ३ महिना जति बसेको पत्नी गौमतीले बताइन् ।

पाल्पाको छेर्लुंगबाट रुपन्देहीको करहियास्थित भलबारीमा आएको उनको परिवार अहिले बुटवलको देवीनगरमा छ ।

२०५० सालमा विवाह गरेका जितेन्द्रले दुई वर्षपहिले सविता लामासँग दोस्रो विवाह गरेपछि जेठी श्रीमती गौमतीसँगको सम्बन्ध टाढिएको थियो ।

अहिले पनि गौतमी दुई छोरासँग बुटवलको घरमा बस्दै आएको तर सबिता भने काठमाडौंमा कहाँ बस्छिन् आफूलाई थाहा नभएको गौमती बताउँछिन् ।

जितेन्द्र काबुल कसरी गए भन्ने पनि गौमती र छोराहरुलाई थाहा छैन । ‘विवाह गरेर काठमाडौंमा बसेको थाहा छ तर हाम्रो देखभेट भएको छैन । उता पनि तीन महिना पहिले बच्चा जन्मिएको छ भन्ने सुनेको छु’–गौमतीले भनिन् ।

विगतका घटना जेजस्तो भएपनि जितेन्द्रको शव नेपालमै ल्याएर अन्तिम संस्कार गर्ने गौमतीको चाहना रहेको छ ।

विदेशी भूमिमा ज्यान गुमाएपनि शवलाई नेपाल ल्याउने व्यवस्था मिलाउन परिवारले सरकारलाई आग्रह गरेको छ । रासस