१२ असार २०८२, बिहिबार | Fri Jun 27 2025


खोला गाउँ पस्ने डरले ६०० घर–परिवार रातभर जाग्राम


0
Shares

मोरङ, असार ८ । पानी परेको रात मोरङको केराबारी–७ का करिब ६०० घर–परिवार रातभर जाग्राम बस्ने गरेका छन् ।

स्थानीय मुगा खोला पूर्वपट्टिको भाग कटान गरी गाउँमा पस्ने गरेकाले यहाँका ६०० घरका सर्वसाधारण रातभर जाग्राम बस्ने गरेका हुन् ।

मुगा खोलाले जमिन कटान गरेर नजिकै आइपुगेको भँगालोले कतिखेर कसलाई बगाउने टुंगो नभएपछि उनीहरु रातभर जाग्राम बस्न बाध्य भएको केरबवारी–७ का मधुकर राईले बताए ।

खोलाले धार परिवर्तन गरी कटान गर्न थालेपछि स्थानीयबासीलाई खोलाले गाउँ बगाउला भन्ने चिन्ताले सताएको छ ।

माथिल्लोे पहाडी भेगमा पानी आउन थालेपछि खोलाले बगाउला भन्ने त्रास हुने स्थानीयबासी चिन्तामणि गुरागाइँ बताउँछन् ।

खोला नियन्त्रणका लागि स्थानीयबासीले प्रयास गरेका थिए । तर, पहाडी भागमा आएको मुसलधारे वर्षाका कारण एकैरातमा बाढी नियन्त्रण गर्ने स्थानीयबासीको प्रयास असफल पारिदिएको गुरागाइँले बताए ।

यो वर्षको झरीका कारण पूर्वी बाँध भत्काएर मुगा खोला गाउँ पसेपछि केराबारी–६ र ७ का करिब ६ सय घर बाढीको जोखिममा परेका छन् । रासस