२३ बैशाख २०८२, मंगलबार | Tue May 6 2025


तमलोपामा नेतृत्व चुनिँदै, संविधान पुनर्लेखनमा जोड


0
Shares

नवलपरासी, असार ८ । तराई मधेस लोकतान्त्रिक पार्टीको नवलपरासीमा जारी महाधिवेशनमा बुधबार नेतृत्व चयन प्रक्रिया सुरु हुँदैछ ।

पार्टी स्थापनाको ९ वर्षपछि भएको पहिलो महाधिवेशनले सबै पदमा नयाँ नेतृत्व चुन्ने छ ।

यद्यपि, अध्यक्षसहितका मुख्य पदहरुमा अहिले रहेकै नेताहरु चुनिने करिब निश्चित छ ।

महाधिवेशनले वर्तमान ५७ सदस्यीय केन्द्रीय समितिलाई बढाएर ७१ सदस्यीय बनाउँदै छ ।

यसअघि, मंगलबार पारित राजनीतिक प्रतिवेदनमा संविधानको पुनर्लेखन नै वर्तमान राजनीतिक समस्याको निकास भएको ठहर गरिएको छ । त्यस्तै, केन्द्रमा साझा शासनको व्यवस्था हुनुपर्ने माग गरिएको छ ।

परासीमा सोमबारदेखि सुरु भएको महाधिवेशनको बन्दसत्रमा पेश गरिएको राजनीतिक प्रतिवेदनमा मधेसी, थारु, आदिबासी, जनजाति, मुस्लिम, महिला, पिछडावर्गलगायत सीमान्कृत समुदायको अधिकार प्राप्तिका लागि संविधान पुनर्लेखन नै उपयुक्त विकल्प भएको ठहर गरिएको छ ।

राज्य पुनःसंरचनामा समग्र मधेस एक प्रदेश नै प्रमुख रहेको भन्दै राजनीतिक प्रतिवेदनमा संविधानका धेरै धारा, उपधारामा अलोकतान्त्रिक र अर्थ नै बांगिने गरी भाषागत् त्रुटि रहेकाले पुनर्लेखनको माग गरिएको छ ।

त्यस्तै, कांग्रेस, एमाले, नेकपा माओवादी केन्द्र, राप्रपा, राप्रपा नेपाललाई यथास्थितिवादीको संज्ञा दिइएको छ ।

मधेसी दलहरुको एकताप्रति प्रतिवेदनमा मधेस आन्दोलन सत्ता र सरकारका लागि नभएकाले मुद्दामा केन्द्रित हुन आग्रह गरिएको छ ।