
-राजु चौधरी,ईमेज
चितवन, असार ७ । नेपालका करिव आधाआधी युवा ठूलै सपना बोकेर विदेशीएका छन् । कोही सपना पुरा गरेरै फर्किन्छन् त कोही सपना अधुरै छोडेर ।
घर परिवारलाई सुखी र खुशीका साथ राख्नका लागि पूर्वी चितवन खैरहनी–१ का बहेरी टोलका ३३ वर्षीय कृष्णबहादुर आठ वर्ष अघि त्यसरी नै सपना बुनेर दुवई पुगे । तर उनले त्यहाँ सोंचे जस्तो त्यहाँ भएन् । तीन वर्षपछि उनी स्वदेश फर्किए । विहेबारी पनि गरे ।
तर नेपालमा केही गर्न सक्ने अवस्था नरहेपछि कृष्णबहादुर फेरी ठूलै सपना बोकेर पाँच वर्षअघि युद्ध भुमीको रुपमा चिनिने अफगानिस्तान पुगे । यसक्रममा उनको परिवारको आर्थिक अवस्थामा विस्तारै सुधार आईरहेको थियो । उनका सपना विस्तारै पुरा भईरहेका थिए ।
उनको मूख्य सपना एउटै थियो कि राम्रो घर बनाई नेपालमै कृषि व्यवसाय गरि अघि बढ्ने । सोही अनुरुप एक महिना छुट्टि लिएर उनी यसैवर्ष वैशाखमा घर फर्किए । घर निर्माणका सबै काम लगभग पुरा गरे । लगत्तै उनी जेठ १८ गते (२० दिन अघि) अफगानिस्तान फर्किए तर कहिल्यै नआउने गरि ।
अफगानिस्तानमा काबुलमा सोमबार विहान भएको आत्मघाती आक्रमण परि उनी पनि अन्य ११ जना नेपालीसंगै ज्यान गुमाउन बाध्य भए । अन्ततः उनको सपना अधुरै रह्यो ।
यस घटनाले उनको परिवार अहिले शोकमा डुबेको छ । कृष्णका भाई अनुप खनाल (काकाको छोरा) ले उनको सपना सुनाउँदै भने–“घर नबनेसम्म म फर्किन्न, सबै ऋण चुक्ता भएपछि व्यवसाय गर्ने गरि नै नेपाल फर्कन्छु ।” सपना पुरा गरेर फर्किने अठोट गरेका उनी कहिल्यै नफर्किनेगरि अस्ताए ।
आत्मघाती बम आक्रमणमा कृष्णको निधनको खबरले उनको घरसंगै गाउँ नै शोकमा डुबेको छ । विगत ५ वर्षदेखि अफगानिस्तानमा रहेको क्यानाडियन राजदुतावासमा सुरक्षा गार्डको रुपमा उनी कार्यरत थिए । विहान ड्युटीमा जाने क्रममा नेपाली सुरक्षा गार्डहरु सवार गाडीमा आत्मघाती बम विस्फोट भएको थियो ।
उनले छुट्टीमा रहँदा घर निर्माणका लागि नक्सा पासदेखि लिएर आवश्यक सामाग्रीको समेत बन्दोबस्त गरि फर्किएका थिए । उनको घरको जग भरर्खरै राखिएको छ । राम्रो घरमा बसेर परिवार चलाउने उनको सपना सदाको लागि अधुरो रह्यो ।
अनुपले भने–“हतार हतार गरेर उहाँले नक्सा पास गरि, चाहिने सामाग्री खरिद गरि जानु भयो, तर उहाँले घर देख्न नपाउँदै अस्ताउनुभयो ।” उनले विमानस्थलबाट आफूलाई फोन गरेर सम्झदै गरेको क्षण सम्झिदै भने–“म हिडे, राम्रोसंग बस्नु, सबैलाई राम्रैसंगै जाँदै छु भन्देउ है ।”
अफगानिस्तान पुगेपछि पनि कृष्णसंग अनुपको फेसबुकमा गफ भईरहन्थ्यो । तर सोमबारको त्यो घटनाको खबर सुन्ने वित्तिकै उनी छाँगाबाट खसे जस्तै भए । अहिले उनको परिवारमा रुवाबासी नै चलेको छ ।
हजुरबुबा, हजुरआमा, बुबा, आमा, भाई, श्रीमती र दुई सन्तानको जिम्मेवारी बोकेका कृष्णको मृत्युले परिवारको बिचल्ली भएको छ । २६ दिनको छुट्टीमा घर आएर फर्किएको छोराको २० दिनमै मृत्युको खबरले बुबा उत्तरकुमार ढुंगाना, आमा विन्दा र श्रीमती भगवती भावविह्वील छन् । तीन भाइ छोरामध्य कृष्ण मइलो छोरा हुन् । उनको मृत्युसंगै उनको सानासाना स–साना छोरा कृपन र छोरी कृपाको समेत बिचल्ली भएको छ ।
द्धन्द्धकालमा नेपाली सेनाको जागिर छोडेर उनी वैदेशिक यात्रा सुरु गरेका थिए । उनको त्यो यात्रा अन्ततः विदेशमै टुङिगयो । कृष्णकी श्रीमती भगवतीको घटना भएको सुनेलगत्तैदेखि आँशु थामिएको छैन् । उनी बोल्न नसेकर सोमबारदेखि नै ओछ्यानमा छिन् ।
बुबा उत्तमकुमार पनि बोल्नै नसक्ने अवस्थामा छन् । उनका हजुरबुबा पनि आफ्नो नातीलाई सम्झदै रोएर बसेका छन् । कृष्णका दाजु गणेश रोजगारीकै शिलसिलामा मलेसीया छन् भने कान्छो भाई अर्जुन रोजगारीकै शिलशिलामा भारतमा छन् ।
प्रतिक्रिया दिनुहोस्