२३ बैशाख २०८२, मंगलबार | Tue May 6 2025


नेवि संघको महाधिवेशन: अब ‘मुठभेड’ कि नीति तथा नेतृत्वको वहस ?


0
Shares

काठमाडौं, असार ९ । नेवि संघको ११ औं महाधिवेशनको माहोल तातिएसँगै संगठनको समय सान्दर्भिक नीति तथा कार्यक्रम बनाउनेतर्फ भन्दा पनि मुठभेडको स्थिति सृजना हुँदै जान थालेको छ ।

करिब एकदशक सम्म महाधिवेशन हुन नसकेर गुट उपगुटमा विभाजित संघभित्र व्यापक ध्रुविकरण बढेर गएको छ । बुधबार बागबजारमा संघको नीति तथा कार्यक्रम र शैक्षिक एजेन्डाको विषयमा भइरहेको कार्यक्रममा कुटाकुट भएपछि महाधिवेशन मुठभेडतर्फ उन्मुख भएको देखिन्छ ।

फरक धारका व्यक्तिलाई पनि बोल्न दिनुपर्छ तथा महिलाहरुको सहभागिता बढाउन भनेर माग राखेका केन्द्रीय सदस्य इन्दु शर्मामाथि कुटपिट भएपछि स्थिति असहज बनेको छ ।

कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल नै सहभागि कार्यक्रममा नेविसंघका कार्यवाहक सभापति सानु महर्जन, काठमाडौं जिल्ला अध्यक्ष मनोज वैद्य र नेविसंघका नेता ऋषिकेश जंग शाहले आफूमाथि हातपात गरेको पीडित शर्माले बताएका छन् ।

यसअघि महाधिवेशनको मिति तय नभइ चैतको पहिलो साता शंकरदेव क्याम्पसका स्ववियू सभापति तथा नेवि संघमा सभापतिका दावेदार शुभराम बस्नेतमाथि भएको आक्रमणले महाधिवेशन मुडभेडतर्फ उन्मुख भएको प्रष्ट देखिन्छ ।

सभापतिका आकांक्षी रामप्रसाद अधिकारी भन्छन, ‘एउटा समुहले नेवि संघ कब्जा गर्न खोज्दा यस्ता घट्ना भइरहेका छन्, संगठनभित्र अरुपनि साथीहरु छन् भन्ने कुरा सबै समूहले बुझ्न सकिरहेका छैनन् ।’ ‘राजनीतिक संस्कार नै गलत रुपमा अघि बढीरहेको छ, नीति तथा कार्यक्रमको त बहस नै हुन छाड्यो, उनले दुःखेसो पोखे ।

संगठन भित्र नीति तथा कार्यक्रम र शैक्षिक एजेन्डाका विषयमा वहस गर्ने केही सिर्जनसिल युवाहरुको आवाजलाई नेतृत्व तथा सभापतिका दावेदारहरुले बुझन सकिरहेका छैनन् ।

नेवि संघ भित्र ‘अराजगता’ र ‘उश्रृखंलता’ले स्थान जमाएको यी माथिका घटना मात्र होइनन् । अध्यक्ष रन्जित कर्णलाई गत बर्ष घरमै पुगेर कालोमोसो र जुत्ताको माला लगाउने देखि अध्यक्षकै अर्का आकाक्षी कुन्दन काफ्लेमाथि गतबर्ष नै भएको आक्रमण मुडभेड निम्ताउन खोजिएका उदाहरण हुन् ।

पूर्वाञ्चलबाट उपाध्यक्षका आकाक्षी विष्णु कार्की भन्छन् , ‘मातृ पार्टीकै नेताहरुका कारण हामीले संगठन भित्र यस्तो नियती भोगिरहेका छौं’ उनले भने, ‘नेताको हस्तक्षेप र गलत निर्णयका कारण नेवि संघ भित्र अनुशासनहीनता बढेर गएको बुझ्न गारो पर्दैन ।’ ११ औं महाधिवेशन साउन २३ देखि २५ सम्म निर्धारण गरिएको छ ।

नीति तथा नेतृत्वको वहस

संगठन भित्रै बौद्धिक र सृजनशिल युवाहरुले कस्तो नीति र कस्तो नेतृत्व हुने भन्ने विषयमा बहस पनि सुरु गरेका छन् । नेवि संघ पत्रकारिता समन्वय समितिका संयोजक दिवाकर अर्यालको नेतृत्वमा सुरु भएको अभियान देशभर संचालन गरिने बताए ।

अर्यालका अनुसार अबको नेवि संघ दुरदृष्टि सहित विद्यार्थीको समस्यालाई समाजसँगै बग्ने गतिशिल जिवन पद्दती मान्ने नेवि संघ, विद्यार्थी संसाधनको व्यवस्थापन गर्ने नेवि संघ, प्रगतिशिल विचार, योजना र दृष्टिकोण भएको नेवि संघ, परिवर्तित र विश्व सन्दर्भ र विकसित सुचना प्रविधिसँग घुलमिल हुन सक्ने बनाउनका लागि यो अभियान थालिएको बताइएको छ ।

संयोजक अर्याल भन्छन,‘यो अभियानलाई देशभर प्रभावकारिताका साथ संचालन गर्न सकियो भने नेवि संघ अनुशासनको दायरामा आउने मात्र नभई विद्यालय देखि केन्द्रीय नेतृत्व पनि स्वच्छ प्रतिस्पर्धाबाट चयन हुने परिपाटीको विकास हुन सक्छ ।’

उमेर हदबन्दीको सवाल

११ औं महाधिवेशनका लागि अध्यक्षको आकाक्षी देखिएका नेताहरुको अधिकतम उमेर सरदर ४५ बर्ष छ । उपाध्यक्ष तथा महामन्त्रीका दावेदारहरुको उमेर पनि ३५ कटिसकेको छ । यस्तो बेला संगठन भित्रकै केही युवाले उमेर हदबन्दीको आवाज उठाएका छन् ।

बावुको पुस्तादेखि छोराको पुस्तासम्म एउटै प्रतिस्पर्धामा हुने विद्यार्थी संगठनको विशेषता हुन नसक्ने भन्दै युवा नेता शुसील भट्ट, डुजाङ शेर्पालगायतका सयौं युवाहरुले नेपाल विद्यार्थी संघको राजनीति गर्न उमेरको हद लाग्ने कि नलाग्ने विद्यार्थी संघमा लगातार कति समयसम्म राजनीति गर्न पाइने कि नपाईने ? लगायतका प्रश्नहरु उठाएर दबाब स्वरुप अभियान चलाइरहेका छन् ।