
काठमाडौं, असार ११ । बागमती सफाइकाक्रममा एक अपरिचित युवाको शव फेलापरेको छ ।
सफाइको १६३औं हप्तामा शनिबार थापाथली–कुपन्डोल आसपासको बागमती नदी सफाइकाक्रममा कुपन्डोलतिरको भागमा बोरामा बन्द गरिएको अवस्थामा गन्हाउने भइसकेको शव फेलापरेको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका कार्यकारी निर्देशक राजेशप्रसाद सिंहले राससलाई जानकारी दिए ।
नदीमा भेटिएको शव प्रहरीलाई बुझाइएको उनले बताउनुभयो ।
सरसफाइमा सात मेट्रिकटन फोहर
यस क्षेत्रमा सफाइ गरी शनिबार सात मेट्रिकटन फोहर व्यवस्थापन गरिएको छ ।
‘आज थापाथली पुलमाथिको सुकुम्बासी बस्तीमा पसेर त्यहाँको वस्तुस्थिति पनि अवलोकन गर्यौं, सुकुम्बासीका नाममा निजी कार र मोटरसाइकल राखेर बसेका हुकुम्बासीले बागमती किनार कब्जा गरेको यथार्थ सफाइका सहभागीले देख्ने अवसर पायौं’–कार्यकारी निर्देशक सिंहले भने ।
करिब ६०० मिटरको बागमती किनारमा ४३० परिवारका दुई हजार मानिस बसोबास गरेको तथ्यांक समितिसँग छ । नदी कब्जा गर्ने उद्देश्यले अधिकांश मानिस बसेका छन् ।
गरिब, बेसहारा र केही नभएका पाँचदेखि सात परिवारमात्र रहेको उनले बताए ।
अतिक्रमणकारीलाई हटाउन ठूला राजनीतिक दलका शीर्षस्थ नेतालाई शनिबारै भेटेर अनुरोध गरिएकामा उनीहरुले दुई दिनको समय मागेको पनि समितिले जनाएको छ ।
सुकुम्बासीको अतिक्रमणका कारण थापाथली क्षेत्रमामात्र ढल बिच्छ्याउन र पर्खाल लगाउन नपाइएको निर्देशक सिंहको गुनासो छ ।
सफाइमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, अधिकार सम्पन्न बागमती समिति, काठमाडौं महानगरपालिका, ग्रीनसिटी अस्पताललगायतका संघ–संस्थाको उपस्थिति थियो ।
वि.सं. २०७० जेठ ४ गते शनिबारदेखि साप्ताहिकरुपमा बागमती सफाइ हुँदै आएको छ ।
शनिबारै गुह्यश्वरीमाथिको भागमा राम्रो जोरपाटी हाम्रो जोरपाटी र पुडासैनी मैत्री समाज, रुद्रमती, विष्णुमतीलगायत बागमतीका सहायक नदीमा पनि सफाइ गरिएको छ । रासस
फाइल फोटो
प्रतिक्रिया दिनुहोस्