१३ असार २०८२, शुक्रबार | Fri Jun 27 2025


बाढीले बाँध भत्काउन थालेपछि स्थानीयबासी त्रसित


0
Shares

सिरहा, असार ११ । अविरल वर्षासँगै आएको बाढीले शनिबार बिहानैदेखि सिरहाको डुमरी गाविस–७ तिलुवास्थित घुर्मी खोलाको बाँध भत्काउन थालेपछि स्थानीयबासी त्रसित भएका छन् ।

एक सातादेखिको वर्षाका कारण शनिबार बिहानैदेखि घुर्मीखोलामा आएको तीव्रगतिको बाढीले बाँध भत्काउन थालेपछि गाउँमा बाढी पस्ने भन्दै स्थानयबासी त्रसित बनेको गाविस सचिव हरिकृष्ण मैनालीले जानकारी दिए ।

‘बाढीले घुर्मी खोलाको बाँध टुटेको छ’–गाविस सचिव मैनालीले भने–‘जसका कारण गाविसको वडा नम्बर–७ मा बाढीले ठूलो क्षति पुर्‍याउनसक्ने सम्भावना रहेको छ ।’

यता, सिरहाका प्रमुख जिल्ला अधिकारी विजयनारायण मानन्धरले जल उत्पन्न कार्यालय सिरहाबाट इन्जिनियरसहितको प्राविधिक टोली बिहानै त्यसतर्फ पठाएको जानकारी दिए ।

यस्तै, अविरल वर्षाका कारण सिरहा सदरमुकामस्थित अधिकांश सरकारी कार्यालय परिसरमा पानी जमेको छ ।

सदरमुकामस्थित जिल्ला पशु कार्यालय, कृषि विकास, जिल्ला जनस्वास्थ्य, विद्युत् प्राधिकरण कार्यालयलगायतका कार्यालयमा पानी जमेको छ ।

यसअघि, शुक्रबार सिरहाको लहानस्थित बलान खोलाबाट प्रहरीले तीनजनालाई उद्धार गरेको थियो । रासस