
काठमाडौं, असार १२ । त्रिवि शिक्षण अस्पतालका चिकित्सक डा. गोविन्द केसीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीमाथि महाअभियोग लगाउनु पर्नेसहित विभिन्न माग अघि सार्दै आमरण अनसनको घोषणा गरेका छन् ।
केसीले आईतबार पत्रकार सम्मेलन गरेर आफू र आफ्ना मान्छेहरुको निहीत स्वार्थका लागि मेडिकल शिक्षाको क्षेत्रमा हस्तक्षेप गर्ने अख्तियारका प्रमुख आयुक्तलाई महाअभियोग लगाउन माग माग गरेका हुन् । उनले आफूले अघि सारेको माग पुरा नभए आगामी २६ गतेबाट आमरण अनसन बस्ने चेतावनी दिएका छन् ।
पत्रकार सम्मेलनमा उनले भने, ‘मतियारको रुपमा काम गर्ने अन्य सम्बन्धित आयुक्तहरुलाई पनि कारवाही गरियोस् ।’
डा. केसीका अनुसार प्रमुख आयुक्त कार्कीले हालै काठामाडौं विश्वविद्यालयको मेडिकल प्रवेश परिक्षामासमेत हस्तक्षेप गरेका थिए । उनले सो घटनाप्रति आपत्ति प्रकट गर्दै कार्कीको चिकित्सा शिक्षा क्षेत्रमाथि हुँदै आएको हस्तक्षेप निहीत व्यापारिक स्वार्थको पक्षपोषण गर्न कै लागि भएको दाबी समेत गरे ।
पत्रकार सम्मेलनमार्फत उनले चिकित्सा शिक्षा ऐनको मस्यौदामा सुधार गरेर संसदको यसै अधिवेशनबाट पारित गर्नु पर्ने, सबै सरकारी मेडिकल शिक्षण संस्थाको आर्थिक भार सरकारले व्यहोरेर शिक्षा निशुल्क हुनुपर्ने, हरेक प्रदेशमा न्यूनतम् एउटा मेडिकल कलेज खोल्न माग गरेका छन् ।
त्यसैगरी काठमाडौं उपत्यकामा आउँदो १० बर्षसम्म मेडिकल र डेन्टल कलेजलाई सम्बन्धन नदिने र सम्बन्धन लिएर पनि सुरु भइनसकेको भए नविकरण नगर्ने, सबै मेडिकल शिक्षामा अधिकतम शुल्क र सीट निर्धारण गर्न, आगामी शैक्षिक सत्रदेखि केन्द्रिय प्रवेश परीक्षाको व्यवस्था गर्नु पर्ने, मनमोहन मेडिकल कलेजसम्बन्धी विधेयक फिर्ता गर्नु पर्ने, विगतमा आफूसँग भएका सम्झौताहरु कार्यान्वयन गर्नु पर्ने माग पनि उनले अघि सारेका छन् ।
प्रतिक्रिया दिनुहोस्