Logo १७ आश्विन २०८३, शनिबार | Sat Oct 3 2026


डा. गोविन्द केसीको मानसिक स्वास्थ्य परीक्षणको व्यवस्था गर्न अख्तियारद्वारा सरकारलाई आग्रह


0
Shares

काठमाडौं, असार १२ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डा. गोविन्द केसी मानसिक रुपमा अस्वस्थ्य भएको भन्दै उनको उपचारको व्यवस्था मिलाउन सरकारलाई आग्रह गरेको छ ।

डा. केसीले अख्तियार प्रमुख कार्कीलाई महाअभियोग लगाउन माग गरेपछि आइतबार साँझ प्रेस विज्ञप्ति जारी गर्दै अख्तियारले डा. केसीको मानसिक स्वास्थ्य ठीक नरहेको, उनी भ्रष्टहरुको माखे साङ्लोमा जेलिएको भन्दै केसीको उपचार व्यवस्था मिलाउन सरकारलाई भनेको हो ।

साथै डा. केसी आफ्नो न्युनतम् आचरण र जिम्मेवारीबाट समेत विमुख रहेकोले उनका क्रियाकलापलाई अख्तियारले नियालीरहेको पनि अख्तियारका प्रवक्ता कृष्णहरि पुस्करले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

अख्तियारले अख्तियार प्रमुखमाथि लगाईको आरोप प्रमाणित गर्न चुनौती दिदैं आरोप प्रमाणित भए अख्तियार प्रमुखले सन्यास लिने उद्घोष पनि विज्ञप्तिमा गरिएको छ ।

त्रिवि शिक्षण अस्पतालका चिकित्सक डा. केसीले आइतबार नै पत्रकार सम्मेलन गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीमाथि महाअभियोग लगाउनु पर्नेसहित विभिन्न माग अघि सार्दै आमरण अनसनको घोषणा गरेका थिए ।

केसीले अख्तियार प्रमुखमाथि आफू र आफ्ना मान्छेहरुको निहीत स्वार्थका लागि मेडिकल शिक्षाको क्षेत्रमा हस्तक्षेप गरेको आरोप लगाएका थिए । उनले आफूले अघि सारेको माग पुरा नभए आगामी २६ गतेबाट आमरण अनसन बस्ने चेतावनी दिएका छन् ।

Skip This