१३ असार २०८२, शुक्रबार | Fri Jun 27 2025


सेनाद्वारा निर्मित सामूहिक आवास हस्तान्तरण


0
Shares

दोलखा, असार १३ । दोलखामा भूकम्पले घरबार गुमाएकाहरुलाई लक्षित गरी नेपाली सेनाको रणभीम गणले दोलखाको जिरीमा निर्माण गरेको सामूहिक आवास भवन हस्तान्तरण गरेको छ ।

रणभीम गणका गणपति मधुसुदन नरसिंह राणाले दोलखाका प्रमुख जिल्ला अधिकारी पुष्पराज शाहीलाई भवनको साँचो हस्तान्तरण गरे ।

त्यसको लगत्तै दोलखाका सांसद पार्वत गुरुङले रिबन काटेर भवन उद्घाटन गरेका हुन् । सेनाले १९ दिनमा निर्माण सम्पन्न गरेको १२ कोठे पक्की भवन ४७ लाखको लागतमा बनाइएको रणभीम गणले जनाएको छ ।

भूकम्पबाट आवास गुमाएकाहरुले आपतकालीन बसोबासका लागि यो भवन प्रयोग गर्न सक्नेछन् । प्रमुख जिल्ला अधिकारी शाहीले भवनको सही सदुपयोग गरिने विश्वास दिलाए ।