१३ असार २०८२, शुक्रबार | Fri Jun 27 2025


अवरुद्ध मुग्लिन–नारायणगढ सडक खुल्यो


0
Shares

चितवन, असार १३ । चितवनको मुग्लिन–नारायणगढ सडकखन्डको विभिन्न क्षेत्रमा खसेको पहिरो पन्छाएपछि सोमबार दिउँसोबाट गाडी सन्चालनमा आएको छ ।

सोमबार बिहान ५ बजे खसेको पहिरोका कारण मुग्लिन–नारायणगढ सडक अवरुद्ध भएको थियो ।

दिउँसो साढे एक बजेपछि गाडी सन्चालनमा ल्याइएको चितवनका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक वसन्तबहादुर कुँवरले जानकारी दिए ।

यहाँ बिहानैदेखि जाममा परेका गाडी सयौंको संख्यामा रहेकाले सवारी आवागमन सहज हुन केही घन्टा लाग्ने कुँवरले जानकारी दिए ।

पहिरोका कारण यहाँ सोमबार आठ घन्टाभन्दा बढी समयदेखि गाडी बीचबाटोमै रोकिएका छन् ।

उक्त सडकको नौकिलो, चारकिलो भन्ने स्थान र सेतीदोभानमा पहिरो खसेर बिहानैदेखि सडक बन्द भएको थियो ।

प्रहरीकाअनुसार डोजर र लोडरको सहायतामा प्रहरीले बाटो खुलाएको हो ।

सडक खुलेसँगै चितवनबाट काठमाडौं, पोखरालगायत क्षेत्रमा आवत–जावत गर्ने सवारी गन्तव्यतर्फ लाग्न थालेका छन् । तर, गाडीको चाप रहेकाले यातायात सहज पार्न समस्या परिरहेको छ ।

उक्त सडक विस्तारकाक्रममा विभिन्न क्षेत्रमा माटो खनिएकाले सानो पानी पर्दासमेत पहिरो खस्दै आएको छ ।

चितवनको अति व्यस्त हुने मुग्लिन–नारायणगढ सडकमा पहिरोका कारण यात्रुले दैनिक सास्ती भोग्दै आएका छन् । रासस

फाइल फोटो