काठमाडौं, असार १३ । सरकारले सुरु गरेको एसएलसीको ‘लेटर ग्रेडिङ’ पद्धतिले शिक्षा क्षेत्रमा अन्योल बढाएको सरोकारवालाहरुले दाबी गरेका छन् ।
सोमबार राजधानीमा आयोजित एक कार्यक्रममा ‘एन प्याब्सन’की पूर्वअध्यक्ष गीता राणाले चार वर्ष लगाएर ग्रेडिङ छुट्याउनुपर्नेमा एकै वर्षमा तीन घन्टाको परीक्षामा प्राप्त अंकलाई ग्रेडिङमा रुपान्तरण गर्दा समस्या आएको बताइन् ।
उनले ग्रेडिङ पद्धतिले शिक्षामा गुणस्तर ल्याउने भएपनि सरकारले पूर्वतयारी नै नगरी ग्रेडिङ पद्धति सुरु गर्दा सबैतिर अन्योल छाएको दाबी गरिन् ।
‘हिसान’का अध्यक्ष रमेश सिलवालले ‘डी’ र ‘ई’ ग्रेड पाउनेहरुले पढ्न नपाउने व्यवस्थाले समस्या उत्पन्न गर्ने तर्क गरे ।
यस्तै, एन प्याब्सनका अध्यक्ष कर्णबहादुर शाहीले हचुवाको भरमा ग्रेडिङ पद्धति लागू गरिएको भन्दै कक्षा ९ देखि नै ग्रेडिङ सुरु हुनुपर्ने औंल्याए ।
अभिभावक संघका अध्यक्ष सुप्रभात भण्डारीले १.६ जीपीए ल्याउनेले उच्चशिक्षा पढ्न नपाउने, लोकसेवा पनि दिन नपाउने तर एसएलसी उत्तीर्ण भएको सर्टिफिकेट चाहिँ पाउने व्यवस्थाले अन्योल थपिएको बताए ।
कार्यक्रममा शिक्षा मन्त्रालयका सहसचिव लवदेव अवस्थीले ग्रेडिङमा अझैपनि सुधारका लागि मन्त्रालयले गृहकार्य गरिरहेको बताए ।





प्रतिक्रिया दिनुहोस्