२५ बैशाख २०८२, बिहिबार | Fri May 9 2025


प्रधानमन्त्रीलाई तत्काल राजिनामा दिन कांग्रेस र माओवादीको दबाब


0
Shares

काठमाडौं, असार २९ । नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल राजीनामा नदिए अविश्वासको प्रस्ताव दर्ता गर्ने निर्णय गरेका छन् । उनीहरुले तत्काल राजीनामा दिन प्रधानमन्त्रीलाई आग्रहसमेत गरेका छन् ।

संसद् भवन नयाँबानेश्वरमा बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले प्रधानमन्त्रीले तत्काल राजीनामा नदिए सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने निर्णय गरेको हो ।

बैठकले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा सरकार गठन गर्न सहयोग गर्ने निर्णय गरेको छ । त्यसैगरी बैठकले कांग्रेस र माओवादीबीच भएको सात बुँदे सहमति अनुमोदन गरेको छ ।

बैठकपछि कांग्रेस नेता रमेश लेखकले कांग्रेस र माओवादीबीच भएका लिखित तथा अलिखित सबै सहमति अनुमोदन गरिएको बताए ।

त्यसैगरी नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठकले पनि प्रधानमन्त्री ओलीले राजीनामा नदिए अविश्वासको प्रस्ताव दर्ता गर्ने निर्णय गरेको छ ।

बैठकले ओली नेतृत्वको सरकारले ल्याएको बजेट पारित गर्न सहयोग गर्नेसमेत निर्णय गरेको नेता गिरिराजमणि पोखरेलले जानकारी दिए ।

तर एमालेले भने प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने र अविश्वासको प्रस्तावको सामना गर्ने निर्णय गरेको छ ।

संसद भवन बानेश्वरमै बसेको एमालेको अनौपचारिक बैठकले प्रधानमन्त्री ओलीविरुद्ध ल्याइने भनिएको अविश्वासको प्रस्तावको सामना गर्ने निर्णय गरेको हो ।

बैठकले संवैधानिक प्रक्रिया फेस गर्दै अघि बढ्ने निर्णय गरेको कानुनमन्त्रीसमेत रहेका एमाले नेता अग्नी खरेलले जानकारी दिए ।

माओवादीले केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि दलहरुबीच नयाँ सरकार गठनमा दौडधूप सुरु भएको छ । अहिले पनि विभिन्न दलका नेताहरु आन्तरिक छलफलमा व्यस्त छन् ।