५ श्रावण २०८२, सोमबार | Tue Jul 22 2025


दोर्दीखोलामा पुल नबन्दा जलविद्युत् आयोजना प्रभावित


0
Shares

नवीनराज कुइँकेल (इमेज)

लमजुङ, असार २९ । लमजुङको दोर्दीखोलामा ‘मोटरेबल’ पुल नबन्दा जलविद्युत् आयोजना प्रभावित भएको छ ।

२०६८ सालदेखि काम थालिएको दोर्दीखोलाको चिती–नौथर जोड्ने मोटरेबल पुल निर्माणले गति लिन नसक्दा दोर्दी करिडोरमा निर्माणाधीन जलविद्युत् आयोजनाहरुसमेत प्रभावित बनेका हुन् ।

निर्माण सुरु भएको पाँच वर्षमा खोलामा तीनओटा पिलर र एकातर्फ केही ‘सपोर्टिङ वाल’मात्रै निर्माण गरिएको छ । जबकि, यो पुल दुई वर्षमा नै सम्पन्न गर्ने भनिएको थियो ।

करिब ३ करोड रुपैयाँको लागतमा निर्माण गर्न लागिएको ५८ मिटर लम्बाई, ६ मिटर चौडाईको यो पुल २०७० असार मसान्तभित्रै निर्माणकार्य सकिनुपर्ने थियो । तर, सम्झौताअनुरुप काम नभएको स्थानीय बताउँछन् ।

निर्माणको जिम्मा पाएको सपना जयबाबा जेभीले अहिलेसम्म वर्षैपिच्छे एक–एकओटा पिलर निर्माण गरेको र गएका दुई वर्षदेखि अरु काम अघि नबढाएको निर्माण समितिका अध्यक्ष कुमराज गुरुङले बताए ।

पुल निर्माणमा ढिलाइ हुँदा दोर्दी कोरीडोरमा निर्माणाधीन ४९.६ मेगावाटको सुपर दोर्दी ‘ख’, २७ मेगावाटको दोर्दीखोला, २५ मेगावाटको माथिल्लो दोर्दी ‘ए’ जलविद्युत् आयोजना निर्माण प्रभावित भएका छन् ।