१६ असार २०८२, सोमबार | Mon Jun 30 2025


आज हरिशयनी एकादशी


0
Shares

काठमाडौं, असार ३१ । आज हरिशयनी एकादशी, हिन्दूहरुले आफ्नो घरमा तुलसीको बिरुवा रोपेर पूजा गर्दैछन् । असार शुक्ल एकादशीलाई हरिशयनी एकादशी भन्ने गरिन्छ । आजैदेखि चतुर्मास ब्रत शुरु भएको छ ।

हरिशयनी अर्थात् विष्णु आजका दिनदेखि चार महिनासम्म सुत्ने भएकाले असार शुक्ल एकादशीदेखि कात्तिक शुक्ल एकादशीसम्मलाई चतुर्मासा भनिन्छ । चतुर्मासमा ब्रत गर्नु शुभ मानिने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

हरिशयनी एकादशीका दिन तुलसीको बिरुवा रोपेपछि सात्विक आहार ग्रहण गरेर चतुर्मास ब्रत बस्नुपर्ने शास्त्रीय मान्यता छ । कात्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशीका दिन दामोदरसँग विवाह गरेपछि चतुर्मास सम्पन्न हुन्छ ।

चतुर्मास ब्रत गर्नेले मुला, भन्टा, मुसुरो, गहत, कुभिन्डो, ज्यामिर र भटमास खानु हुँदैन । त्यसैगरी साउनमा साग, भदौमा दही, असोजमा दूध र कात्तिकमा दुई दल भएका अन्न खान नहुने शास्त्रीय मान्यता छ ।

हरिशयनी एकादशीका दिन तुलसी रोप्न पशुपति क्षेत्र विकास कोषले तुलसीको बिरुवा निःशुल्क उपलब्ध गराएको जनाएको छ ।