१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


जनयुद्धको उद्गमस्थल रोल्पाको विकासमा सरकारी उदासिनता (भिडियो)


0
Shares

पहलमान घर्ती-
रोल्पा, असार ३१ । १० वर्षे सशस्त्र जनयुद्धको उद्मस्थल रोल्पाको समग्र विकासमा राज्यले नै उदासिनता देखाएको छ । विकासको ठोस योजना बनाउने उद्देश्यले वृहत विकास सम्मेलन गर्ने तयारी गरिएको भए पनि कर्मचारीहरुको लापरबाहीले त्यो समेत अघि बढ्न सकेको छैन ।

रोल्पामा समग्र विकासको ठोस योजना बनाउने उद्देश्यका साथ बृहत विकास सम्मेलन गर्ने तयारी तत्कालिन स्थानीय विकास अधिकारी गेहेन्द्र बहादुर डाँगीले गरेका थिए । तर उनको तुरुन्त सरुवा भयोे । डाँगीको सरुवा पश्चात अहिले विकास सम्मेलनको कुनै पनि काम अगाडि बढाइएको छैन ।

नागरिक समाज रोल्पाका संयोजक घनश्याम आचार्यको संयोजकत्वमा सम्मेलन समिति गठन गरिएको थियो । समितिले अवधारणा पत्र पनि तयार पारेकोे थियो । हाल उक्त समिति नै बेखबर बनेको सम्मेलन समितिका सदस्य तथा नेपाल पत्रकार महासंघ रोल्पाका अध्यक्ष महेश न्यौपाने बताउँछन् ।

जिल्लाको सडक, कृषि, वन, पर्यटन, जडिबुटी, जलविद्युत् एवं गुणस्तरीय शैक्षिक विकास गर्न गुरुयोजना बनाउने गरी तत्कालिन स्थानीय विकास अधिकारी गेहेन्द्रबहादुर डाँगीले विकास सम्मेलन अवधारणा अघि सारेका हुन् । समितिले जिल्लाका सडक सञ्जाल, विद्युतीकरण, लघु उद्योग, पर्यटन विकास, शैक्षिक सुधार एवं कृषिको पर्याप्त विकास गर्न विभिन्न योजनालाई प्राथमिकता दिएको थियो ।

सम्मेलनमा सरकारका अधिकांश मन्त्री, सांसद, दातृ निकायका प्रतिनिधिहरुको सहभागि गराई रोल्पा जिल्लाको बास्तविक लगानी क्षेत्रको पहिचान गरि धेरैभन्दा धेरै सहयोग जुटाउन पहल गरिने लक्ष्य राखिएको थियो । तर कहाँ गएर अड्कियो विकास सम्मेलन थाहै छैन । समिति गठनपछि तत्कालिन स्थानीय विकास अधिकारीको सरुवा नहुँदा ३ पटकसम्म वैठक बसेको थियो । डाँगीको सरुवासँगै पछिल्लो समयमा सबै भताभुंग भएको हो ।

यता जिल्ला विकास समिति रोल्पाका सूचना अधिकारी रामकुमार न्यौपाने भने विकासको काम नरोकिएको बताउँछन् ।

विकास सम्मेलन पछि जिल्लाको विकासमा केहि परिवर्तन हुन्छ कि भन्ने सोचेका रोल्पाली जनताहरु अहिले निरास बनेका छन् । एक कर्मचारीले लिएको जिल्लाको विकासको अवधारणालाई अर्को कर्मचारी आएर समयमा नहेर्नु कर्मचारी आफैँमा लाजमर्दो हो ।