१६ असार २०८२, सोमबार | Mon Jun 30 2025


कालीगण्डकी ‘ए’ जलविद्युत् केन्द्रको बाँध भत्कियो, आँधीमुहान क्षेत्र खतरामा


0
Shares

पाल्पा, असार ३१ । मुलुककै ठूलो जलविद्युत् आयोजना कालीगण्डकी ‘ए’ जलविद्युत् केन्द्रको बाँध वर्षाले भत्काएपछि आँधीमुहान क्षेत्र खतरामा परेको छ ।

श्रीकृष्ण गण्डकी गाविस वडा नं ८, आँधीमुहानमा आँधीखोलाले नदीको कटान गरेपछि यहाँका १२ घर पहिरोको जोखिममा रहेका छन् । पहिरोका कारण जोखिममा परेका बस्तीलाई स्थानान्तरण गर्नुपर्ने भएको छ ।

नदी कटानका कारण आँधीमुहान आसपासका बस्तीसमेत चर्किएको स्थानीयवासी रुमादेवी बस्यालले बताइन् । नदी कटानका कारण केही वर्ष अगाडि जिविसले लगाएको कालीगण्डकी ‘ए’ जलविद्युत् केन्द्रको पर्खाल भत्किएको छ ।

नदी कटानकै कारण आँधीमुहानमा रहेको श्रीकृष्ण गण्डकी गाविस र निवुवाखर्क गाविस जोड्ने झोलुङे पुलसमेत खतरामा रहेको छ । उक्त पुल खतरामा परेसँगै पर्वत बागलुङ आवतजावतमा समस्या थपिने सम्भावना बढेको स्थानीयवासी रत्न कुँवरले बताए ।

मुलुककै सबैभन्दा ठूलो जलविद्युत् केन्द्र कालीगण्डकी ‘ए’ निर्माणका क्रममा विसं २०५७ देखि मालवाहक ट्रक र जिपका इन्जिन राखेर कालीगण्डकी नदीमा सञ्चालनमा आइरहेको स्टुमर जलाशय सेवा अहिले अवरुद्ध बनेको छ ।

दशवटा स्टुमरले आँधीमुहान क्षेत्रदेखि पिढीखोलाको सेतीवेणीसम्म सात किमीको जलाशय सेवा दिँदै आएकामा नदी कटान भएपछि सो सेवा बन्द भएको हो ।

विद्युत् केन्द्रले बिनाजानकारी ड्यामको ढोका खोल्दा स्टुमर बगाउने तथा डुबाउने गर्दा लाखेँको सम्पत्ति हिनामिना भएको शिला शालिग्राम कालीगण्डकी जल यातायात प्राइभेट लिमिटेडका अध्यक्ष टीकाराम कुँवरले बताए । जलाशय सेवाबाट स्याङ्जा, पर्वत, गुल्मी जिल्लाका २३ वटा गाविस प्रत्यक्ष लाभान्वित छन् ।

कालीगण्डकी ‘ए’ जल विद्युत् केन्द्र बेल्टारीका प्रमुख राजाराम पाण्डेयले माथिल्लो निकायमा जानकारी गराई समस्याको समाधानतर्फ लाग्ने बताए । जिविसले जोखिम क्षेत्रको अनुगमन गर्दै समस्या समाधानका लागि सहयोग गर्ने बताएको छ । (रासस)