Logo १४ असार २०८३, आइतबार | Sun Jun 28 2026


आज साउने संक्रान्ति मनाइँदै, यस्तो छ यो दिनको महत्व


0
Shares

काठमाडौं, साउन १ । सूर्य मिथुन राशिबाट कर्कट राशिमा प्रवेश गर्ने साउन १ गतेलाई कर्कट संक्रान्तिकारुपमा मनाइन्छ ।

माघ १ गते अर्थात् मकर संक्रान्तिका दिन उत्तरतर्फको यात्रा गर्ने सूर्यले आजैदेखि दक्षिणको यात्रा गर्ने भएकाले दक्षिणायन पनि कर्कट संक्रान्तिकै दिनदेखि सुरु हुन्छ ।

साउन १ गते भएकाले आजको दिनलाई साउने संक्रान्ति पनि भनिन्छ ।

आजका दिन कन्डारक नाम गरेको रात्रिचर (राति हिँड्ने) को पूजा गरी बलेको अगुल्टो फालेपछि वर्षाभर खेतबारीको काम गर्दा लागेको छालाको रोग, खटिरा, लुतो आदि निको हुने शास्त्रीय मान्यता रहेको नेपाल पञ्चांग निर्णायक समितिका अध्यक्ष एवम् धर्मशास्त्रविद् प्राडा. रामचन्द्र गौतमले राससलाई जानकारी दिए ।

‘वर्षभरका संक्रान्तिमध्ये वैशाख, साउन, कात्तिक र माघ गरी चारओटालाई महत्वकासाथ लिइन्छ, वैशाख र कात्तिक संक्रान्तिमा दिनरात दुबै बराबर, साउने संक्रान्तिका दिन लामो र माघे संक्रान्तिका दिन छोटो हुने भएकाले यी चारको अन्यको तुलनमा बढी महत्व भएको हो’–उनले भने ।

साउने संक्रान्तिपछि चाडपर्वको लहरसमेत सुरु हुन्छ । रासस