
काठमाडौं, साउन २ । नेपाल बैंकर्स संघले विपन्न क्षेत्रमा २ प्रतिशत लगानी गर्न नसकिने जनाएको छ ।
नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको मौद्रिक नीतिमा कुल लगानीको पाँच प्रतिशतमध्ये दुई प्रतिशत बैंकिङ्ग क्षेत्र आफैंले विपन्न वर्गमा लगानी गर्नुपर्ने व्यवस्था गरेको थियो । त्यसको बैंकर्स संघले विरोध गरेको हो ।
संघले आइतबार गरेको पत्रकार सम्मेलनमा अध्यक्ष उपेन्द्र पौडेलले बैंकहरुको पूर्वाधार, शीप र संजाल सबै हेर्दा अहिलेको अवस्थामा विपन्न क्षेत्रमा २ प्रतिशत कर्जा लगानी गर्न सम्भव नभएको बताए । उनले विपन्न वर्गमा पाँच प्रतिशतमध्ये दुई प्रतिशत बैंकहरु आफैं सक्रिय भएर लगानी गर्नुपर्ने व्यवस्था एकदमै चुनौतीपूर्ण रहेको बताए । मौद्रिक नीतिमा आएकोमध्ये सबैभन्दा चुनौतीपूर्ण विषय यही भएको उनको भनाई छ ।
बैंकर राजनसिंह भण्डारी, शशिन जोशी लगायतले कुल लगानीको पाँच प्रतिशतमध्ये २ प्रतिशत लगानी भनेको कुल विपन्न वर्गको ४० प्रतिशत हुने र ४० प्रतिशत लगानी बैंकहरुले गर्न नसक्ने बताए ।
यस विषयमा राष्ट्र बैंकले पुनः विचार गर्नुपर्ने सुझाव बैंकरहरुको छ । बैंकरहरुले रियल स्टेट र सेयर धितोमा गरेको कडाईको भने स्वागत गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्