
प्रतीक लामिछाने/भरत केसी (इमेज)
काठमाडौं, साउन ५ । पर्यटन व्यवसायीहरुको छाता संगठन ट्रेकिङ एसेन्सिज् एसोसिएसन अफ नेपाल (टान) राजनीतिक खिचातानीको मारमा परेको छ ।
टानका पदाधिकारीहरुबीच देखिएको जुँगाको लडाइँले संगठन नै अप्ठेरोमा परेको छ ।
देशका करिब ११ सय पर्यटन व्यवसायीहरु आबद्ध टानका अध्यक्ष चन्द्र रिजाल, महासचिव कर्ण लामा र कोषाध्यक्ष लीलाबल्लभ दाहालबीचको लडाइँले टान यतिबेला जाममा परेको छ ।
अध्यक्ष रिजाल र महासचिव लामाले आफूखुसी निर्णय गर्दै संस्थामा मौज्दात रकमभन्दा १० गुण बढी रकम मनलागी ढंगले चन्दा स्वरुप बाँडेको आरोप कोषाध्यक्ष दाहालले लगाएका छन् ।
तर, अध्यक्ष रिजाल यो आरोप स्वीकार्न तयार देखिँदैनन् । महाधिवेशनको बेलाको राजनीतिक धंगधगीलाई कोषाध्यक्षले संस्थाभित्र प्रवेश गराएको रिजालको दाबी छ ।
अध्यक्ष रिजाल र महासचिव लामा एमाले–माओवादी प्यानलबाट निर्वाचित भएका हुन् भने कोषाध्यक्ष दाहाल कांग्रेस खेमाबाट निर्वाचित हुन् ।
एउटा टेकिङ एजेन्सी नवीकरण गर्दा टानले ५ हजार ५ सय रुपैयाँ शुल्क लिने गरेको छ । नवीकरणबाटमात्रै वर्षेनि ६० लाखभन्दा बढी रकम उठ्ने गरेको छ ।
यसका साथै नेपाल पर्यटन बोर्डले पनि टानलाई आर्थिक सहयोग प्रदान गर्ने गरेको छ । तर, टानको खातामा अहिले करिब २ लाख रुपैयाँमात्रै रहेको दाहालको भनाइ छ । जबकि, तिर्नुपर्ने रकम ४० सौं गुणा बढी रहेको छ ।
तिर्नुपर्ने रकमको चेकसमेत बनिसकेको तर कोषाध्यक्षले हस्ताक्षर नगरेकै कारण महिनौदेखि रकम अड्किएको आरोप लगाउँछन् महासचिव लामा ।
राजनीतिक रिसइबीका कारण टानको इतिहासमै लज्जास्पद परिस्थितिबाट टान गुज्रिएको टानका पूर्वपदाधिकारी एवं पर्यटन व्यवसायीहरुको भनाइ छ । एक रिपोर्ट (विस्तृत भिडियोमा हेर्नुहोस्) ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्
प्रतिक्रिया दिनुहोस्