
काठमाडौं, साउन ६ । चीनसँग सीमा जोडिएका गाउँमा भारतीय लगानीमा गुम्बा खुल्ने क्रम बढेको छ ।
ती गुम्बामा भारतीय र तिब्बती पाठ्यक्रम नै राखेर शैक्षिक परामर्श दिने गरिएको हो ।
तिब्बती मूलका नेपाली लामा पढाउने र तिब्बती भाषा सिकाउने यस्ता शैक्षिक संस्था गुम्बाका नामबाट संचालित छन् ।
‘भारतीय सामाजिक शिक्षा पढाइरहेका गुम्बामा बल्लतल्ल प्रतिबन्ध लगायौं’ मुस्ताङका जिशिअ केशरीशरण न्यौपानेले भने, ‘के हाम्रो सामाजिक विषय छैन ?’
उनले गुम्बा संचालनको खर्च पारदर्शी नहुँदासम्म सरकारले ६ कक्षाको स्वीकृति नदिने बताए । ‘मलाई जवाफ दिनुस्, गुम्बा बनाउने र चलाउने करोड रकम कहाँबाट आयो ?’ मुस्ताङ शाक्य बौद्ध संघद्वारा आयोजित कार्यक्रममा जिशिअ न्यौपानेले दर्जन गुम्बाका लामालाई प्रश्न गरे, ‘शिक्षामा भएको लगानीमा राष्ट्रियता खलल पार्ने नियत घुस्न हुँदैन ।’
उपल्लो मुस्ताङका ६ गाविस छोन्हुप, छोसेर, लोमान्थाङ, सुर्खाङ, चराङ र घमीमा गोन्पा (गुम्बा) शिक्षा पाठ्यक्रमको पढाइ हुँदै आएको छ ।
केही गुम्बा धमाधम निर्माण भइरहेका छन् । लोमान्थाङस्थित छोदे गुम्बाको नयाँ भवन धमाधम बनिरहेको छ । नयाँ भवन २५ कोठाको हुनेछ । पुरानो भवनका १८ कोठाले नपुगेर नयाँ बनाउन लागिएको हो ।
यसमा भारतीय दुतावासको प्रत्यक्ष लगानी छ । ‘भारतको दुतावासका मान्छे आएर भवन बनाउन पैसा दिएका हुन्,’ गुम्बाका पुजारी ग्याचोले भने, ‘तपाइँहरु काम गर्नुुस्, हामी पैसा दिन्छौं भनेका छन् ।’ –कान्तिपुर दैनिकबाट
प्रतिक्रिया दिनुहोस्