२० असार २०८२, शुक्रबार | Sat Jul 5 2025


बसपार्क अव्यवस्थित हुँदा यात्रुलाई सास्ती (भिडियो)


0
Shares

डिल्लीराज पन्त-
महेन्द्रनगर, साउन ७ । कञ्चनपुरको सदरमुकाम महेन्द्रनगरस्थित बसपार्क अव्यवस्थित हुँदा यात्रुले सास्ती खेप्नुपरेको छ । लामो समयदेखि बसपार्कको मर्मत तथा सरसफाई नहुनुका साथै छाडा पशुका कारण दुर्घटनासमेत बढेको छ ।

महेन्द्रनगरमा रहेको एक मात्र बसपार्कको अवस्था दिनानुदिन नाजुक बन्दै गएको हो । सुदुरपश्चिमको प्रमुख नाकाको रुपमा चिनिने पश्चिमी सिमानाका गड्डाचौकीबाट हजारौं यात्रुले दैनिक यही बसपार्क भएर आवत–जावत गर्ने गर्छन् । लामो समयदेखि बसपार्क स्तरोन्नतीका कुनै पनि कार्य नहुँदा यो बसपार्कमा आउने यात्रुहरुले सास्ती खेप्दै आएका छन् ।

बसपार्कभित्र ठुला–ठुला खाडलहरुमा वर्षातको पानी जम्मा भई आवत–जावतमै समस्या भएको छ । बसपार्कभित्रै बजार क्षेत्रका छाडा गाईगोरुहरुको बथान जम्मा हुने भएका कारण बस सञ्चालन गर्न र पार्किङ गर्नसमेत कठिनाई भई दुर्घटना बढेको चालकको गुनासो छ ।

नगर स्वच्छ र सरसफाई गर्ने दाबी भिमदत्त नगरपालिकाले गरे पनि नगरपालिकाको लापर्वाहीका कारण बसपार्कभित्र तथा बाहिर फोहर तथा दुर्गन्धित भएपछि यात्रुहरुलाई कठिनाई भएको छ ।

विगत लामो समयदेखि बसपार्क सुधार गर्न लापर्वाही तथा बेवास्ता गर्ने नगरपालिकाले नयाँ आर्थिक वर्षमा भने ७ करोड ३२ लाखको ठेक्का दिएको छ । १५ महिनाभित्र बसपार्कको मर्मत तथा स्तरोन्नती गर्ने गरी ठेक्का प्रकृया शुरु गरिएको भिमदत्त नगरपालिकाका कार्यकारी अधिकृत गेहेन्द्र बहादुर डांगी बताउँछन् ।

दैनिक हजारौंको संख्यामा सर्वसाधारण आवतजावत गर्ने महेन्द्रनगर बसपार्कलाई सम्बन्धित निकायले बेलैमा मर्मत सम्भार गरी छिटोभन्दा छिटो स्तरोन्नती गर्नु जरुरी छ ।