२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


डा. केसी अनसनः दोस्रो चरणको वार्ता विज्ञसँगको छलफल गर्नुपर्ने भन्दै स्थगित


0
Shares

                                                                फाइल फोटो
काठमाडौं, साउन ७ । सरकार र डा. गोविन्द केसी प्रतिनिधिबीच स्वास्थ्य मन्त्रालयमा शुक्रबार बिहान ११ बजेबाट बसेको दोस्रो चरणको वार्ता विज्ञसँग छलफल गर्नुपर्ने भन्दै स्थगित भएको छ ।

सरकारी वार्ता टोली संयोजक एवं स्वास्थ्य मन्त्रालयका सचिव डा. सेनेन्द्रराज उप्रेतीले केही विषयमा गाँठो फुकाउनका लागि विज्ञसँग छलफल गर्नुपर्ने भएकाले पुनः अर्को चरणमा वार्ता गर्ने सहमति भएको जानकारी दिए ।

उनले भने–‘केही विषय निकै जटिल छन् । ठोस निष्कर्षमा पुग्न विज्ञको राय आवश्यक परेकाले वार्ता केही समयका लागि स्थगित गरिएको छ । अब हुने वार्तालाई अन्तिम बनाउन हाम्रो प्रयास रहनेछ ।’

विज्ञको सुझावपछि अर्को चरणको वार्ता आजै बस्ने उनको भनाइ छ ।

डा. केसीका तर्फबाट वार्ता टोलीका संयोजक डा. रञ्जनकुमार सापकोटाले वार्तामा विहीबारको तुलनामा केही अगाडि बढेपनि मुख्य विषयमा छलफल नै हुन नसकेको बताए ।

उनले भने–‘हामी सहमतिको नजिक पुग्न खोजिरहेका छौं, उहाँहरुले विज्ञसँग छलफलका लागि समय मागेपछि सकेसम्म आजै ७ बजेतिर पुनः वार्तामा बस्ने सहमतिसहित वार्ता स्थगित भएको छ ।’

दुबैैपक्ष आजै निष्कर्षमा पुग्न सहमत भएका छन् । वार्ता सकारात्मकरुपमा अघि बढेको बताइएको छ । बिहीबार र शुक्रबार गरी– ८ घन्टासम्म वार्ता भएको छ ।

डा. केसी चिकित्सा क्षेत्र सुधारलगायत विभिन्न माग राख्दै गत १३ दिनदेखि अनशन बसिरहेका छन् । रासस