६ श्रावण २०८२, मंगलबार | Wed Jul 23 2025


‘मौद्रिक नीति कार्यान्वयन भए लगानी, उत्पादन र रोजगारीमा सकारात्मक प्रभाव पर्ने’


0
Shares

काठमाडौं, साउन ७ । नेपाल उद्योग वाणिज्य महासंघले राष्ट्र बैंकले जारी गरेको नयाँ आर्थिक वर्ष २०७३/०७४ को मौद्रिक नीति कार्यान्वयन भए मुलुकको लगानी, उत्पादन र रोजगारीमा सकारात्मक प्रभाव पर्ने भन्दै स्वागत् गरेको छ ।

महासंघले शुक्रबार यससम्बन्धी कार्यक्रम गरी औपचारिक धारणा सार्वजनिक गरेको हो ।

महासंघका बैंक, वित्त तथा बीमा समितिका सभापति शंकर पाण्डेले मौद्रिक नीतिमा केही क्षेत्रमा भने सुधार गर्नुपर्ने महासंघको धारणा रहेको बताए ।

कृषि, ऊर्जा, निर्यात् उत्पादनमूलक क्षेत्रमा पुनरकर्जाको व्यवस्था गरेपनि अपेक्षाकृत कर्जा प्रवाह हुन नसकेको भन्दै उनले यस व्यवस्थाको प्रभावकारी कार्यान्वयनका लागि आवश्यक संयन्त्रको विकास हुनुपर्नेमा जोड दिए ।

त्यस्तै, नेपाल राष्ट्र बैंकमार्फत् उपलब्ध भइरहेको पुनरकर्जाको अवधि ६ महिनामात्र भएकाले यसको अवधि १ वर्ष हुने व्यवस्था गर्न पनि महासंघको माग छ ।

५ प्रतिशतभन्दा कम भन्सार महसुल लाग्ने वस्तुको पनि १० प्रतिशतको चेक जारी गर्नुपर्ने विद्यमान व्यवस्थामा सुधार हुनुपर्ने, नेपालबाट विदेशमा लगानी गर्न प्रतिबन्ध हटाउनुपर्ने, गैरबैंकिङ क्षेत्रले पनि सुन आयात् गर्न पाउनुपर्ने, निर्यात् क्षेत्रका लागि ३ प्रतिशत ब्याजदरमा ‘टर्म लोन’को व्यवस्था हुनुपर्नेलगायतका व्यवस्था गर्न पनि महासंघको माग रहेको छ ।

कार्यक्रममा नेपाल राष्ट्र बैंकका डिपुटी गभर्नर चिन्तामणि शिवाकोटीले विगतकोभन्दा यसपटकको मौद्रिक नीति सोचे अनुकूलको आइरहेको बताए ।

उनले राष्ट्र बैंक मौद्रिक नीतिलाई कार्यान्वयन गरेर देखाउने पक्षमा रहेको पनि उल्लेख गरे ।