
प्रतीक्षा खनाल र लक्ष्मणमान डंगोल (इमेज)
काठमाडौं, वैशाख १२ । काठमाडौंका साँघुरा गल्ली चहार्दै गर्दा मनमा एकखालको त्रास सिर्जना हुन्छ, यही क्षण भूकम्प आए आफूलाई कसरी सुरक्षित गर्ने ?
काठमाडौंमा २०७२ सालको महाभूकम्प अनुभव गर्ने हरेकले त्यसबेला सुरक्षित घर र धेरैभन्दा धेरै खुला स्थान बनाउनुपर्ने विषयलाई निकै महत्वका साथ प्राथमिकतामा राखेका थिए ।
त्यतिबेला लाग्थ्यो, अब काठमाडौंमा अग्ला घर बनाउनुअघि धेरैपटक सोचिने छ र सुरक्षित संरचना निर्माणमा जोड दिइनेछ । खुला स्थानहरु व्यवस्थित पारिनेछ । विभिन्न विकल्पहरु तयार पारिनेछ ।
तर, महाभूकम्पपछिका यी चार वर्षमा न त अग्ला घर निर्माण रोकिए न खुला ठाउँ नै व्यवस्थित बन्न सके ।
पुराना बस्तीलाई सुरक्षित र व्यवस्थित गर्न नसके तापनि नयाँ बस्ती तथा भवन निर्माण गर्दा वैज्ञानिक ढंगले वरपर खुला स्थानसहित निर्माण गर्नु आवश्यक मानिन्छ ।
तर, त्यसअनुरुपका बस्ती निर्माण भएको देखिँदैन । अव्यवस्थित र कमभन्दा कम खुला स्थान भएका बस्ती निर्माण तीव्रताका साथ अघि बढ्दै गएका छन् ।
महाभूकम्पको असरपछि पनि अझै राम्रोसँग पाठ सिकेको देखिँदैन ।
हाम्रा पुर्खाहरुले बस्ती निर्माण गर्दा चोक–चोकमा खुला स्थानको निकै राम्रो व्यवस्थापन गर्ने गर्दथे । यस्ता स्थानहरु सामाजिक कार्यदेखि भूकम्पलगायतका विपद्का बेलामा निकै उपयोगी साविक हुन्थे ।
तर, हाल आएर कतिपय यस्ता खुला स्थानहरु मासिइसके । कति मिचिइसके भने कतिपय अन्य प्रयोजनका लागि उपयोग भइरहेका छन् ।
महाभूकम्पमा हजारौंलाई सुरक्षाको अनुभूति दिएको खुलामञ्च र टुँडिखेल पनि हाल खुला छैनन् ।
निर्माण सामग्री, टहरा तथा अस्थायी बसपार्कले ओगटेका यी स्थान खाली गराउनुपर्ने माग पनि चर्कंर्दै गएको छ ।
विपद्पछि विपद् व्यवस्थापन र जोखिम न्यूनीकरणको चर्चा निकै हुन्छ । तर, समय बित्दै जाँदा विपद्ले पार्ने असरबारेको सतर्कता र सचेतना पनि कम हुँदै जान्छ ।
प्रतिक्रिया दिनुहोस्