१९ असार २०८२, बिहिबार | Thu Jul 3 2025


सप्तरीमा दुई हजारभन्दा बढी घर डुबानमा, खेतीयोग्य जग्गा जलमग्न


0
Shares

सप्तरी, साउन ९ । शुक्रवार रातिदेखि परेको अविरल वर्षाका कारण सप्तरी जिल्लाको विभिन्न गाविसमा करिब दुई हजारभन्दा बढी घर डुबानमा परेको छ ।

खडक, खाँडो, महुली, चापिन, सुन्दरी, भलुवाही लगायतका खोलामा आएको बाढीको पानी बस्तीमा पस्दा घर डुबानमा परेको हो ।

बाढीले नदीहरुको बाँध र स्पर भत्काउँदा सकरपुरा, दिघवा, लौनिया, रम्पुरा मल्हनियाँ, देउरी भरुवा, गोबरगाढा, झल्ही, फर्सैठ, बिसहरिया, तिलाठी लगायत डेढ दर्जनभन्दा बढी गाविसको बस्तीमा पानी पसेको छ ।

बाढीले करिब तीस हजार हेक्टरभन्दा बढी खेतीयोग्य जग्गा जलमग्न भएको छ । जिल्लाको देउरी भरुवा गाविसको पक्की भवनसमेत कटानको जोखिममा परेको छ ।

यसैगरी दर्जनौ माछा पोखरीमा बाढीको पानी पस्दा लाखौं रुपैयाँ बराबरको माछा पानीसँगै बगेको छ ।

प्रमुख जिल्ला अधिकारी बलदेव गौतमले बाढी प्रभावित क्षेत्रका बासिन्दालाई सचेत रहन र सुरक्षित स्थानमा सर्नकोलागि तयार रहन सूचना जारी गरेको छन् ।