२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


पूर्वमा बाढीको प्रकोप : सप्तकोशीमा पानी घटे पनि खतरा कायमै


0
Shares

सप्तरी, साउन ९ । तीन दिनदेखि लगातारको वर्षाका कारण सप्तरी जिल्लाको विभिन्न नदीमा आएको बाढीले ४ हजार परिवारका करिब १३ हजार घर डुबानमा परेका छन् । ती घरहरुमध्ये एक हजार पाँच सय घर पूर्ण रुपमा क्षतिग्रस्त भएको नेपाल रेडक्रस सासाइटी सप्तरीले जनाएको छ ।

बाढीका कारण डुबानमा परेकाहरु तीन दिनदेखि घर डुबानमा परेकोले खाना बनाउन नसक्दा भोकै बस्नुपरेको पीडितहरुले बताएका छन् ।

सप्तरीको महुली खोलाको तटबन्ध भत्किँदा जिल्लाको मयनाकरेडी गाविसमा पनि पसेको छ । मयनाकरेडीमा उद्धारका लागि सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रहरी प्रमुख एसपी भीमप्रसाद ढकालले जानकारी दिए ।

यसैबीच जिल्ला दैवी प्रकोप उद्धार समितिले आइतवार सकरपुरा, रम्पुरा मल्हनिया र बिषहरियाका पीडित परिवारलाई तात्कालिक खाजाका लागि भुजा, चिउरा र नुन वितरण गरेको छ । दैवी प्रकोप समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी बलदेव गौतमसहित स्थानीय सुरक्षा, प्रमुखहरु, रेडक्रसका पदाधिकारीसहितको टोलीले बाढीग्रस्त क्षेत्रको निरीक्षण गर्नुका साथै सजग र सचेत भई जनधनको सुरक्षा गर्न आग्रह गरेका छन् ।

उता, सप्तकोशीमा पानीको बहाव नघटेपछि खतरा कायमै रहेको छ । पूर्वी पहाडी जिल्लाहरुमा लगातार बर्षा नरोकिएपछि सप्तकोशीमा पानीको बहावमा उतारचढाव भैरहेको छ । शनिबारभन्दा आइतबार सप्तकोशी नदीमा पानीको बहावमा कमी आएपनि खतरा भने कायमै छ ।

शनिबार सप्तकोशी नदीमा २ लाख ५० हजार एक सय २५ क्यूसेक रहेकोमा आइतबार साँझ घटेर २ लाख २८ हजार २ सय २५ क्युसेक पुगेको सुनसरीका प्रहरी प्रमुख एसपी पोषराज पोखरेलले बताए ।

खतरा भए पनि आत्तिहाल्नु पर्ने अवस्था नरहेको उनको भनाइ छ । सप्तकोशीमा सामान्यतया एक लाख ५० हजार क्युसेक पानीको बहाव पुगेपछि खतरा मानिदै आएको छ ।

पानीको बहाव उच्च भएपछि कोशी ब्यारेजको दुबैतर्फ खतराको संकेत स्वरुप रातो बत्ती बालिएको छ । ब्यारेजमा पानीको बहाव उच्च हुँदा पनि भारत सरकारको नियन्त्रणमा रहेको कोशी व्यारेजका सबै ढोका नखोलिँदा सुनसरीका महेन्द्रनगर, प्रकाशपुर, मधुवन, श्रीपुर, हरिपुरलगायतका सर्वसाधारण त्रसित बनेको कोशी पीडित संघर्ष समितिका सचिव बाबुराम कार्कीले बताए ।