१९ असार २०८२, बिहिबार | Thu Jul 3 2025


डा. केसीसँग सहमति, आज अनशन तोड्ने


0
Shares

काठमाडौं, साउन १० । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई महाभियोगसहित चारबुँदे माग राखेर १६ दिनदेखि आमरण अनशनरत डा. गोविन्द केसी र सरकारबीच आइतबार सम्झौता भएको छ ।

विवादमा रहेको मनमोहन मेडिकल कलेज सरकारले किन्ने सम्झौता गरेका दुबै पक्ष अख्तियारको विषय संसदमा प्रवेश गरिसकेको भन्दै अन्य महत्वपूर्ण विषयमा सहमतिमा पुगेका हुन् ।

केसीले आइतबार बेलुकी १० बजेर २० मिनेटमा टिचिङ अस्पतालको अनशनकक्षमा सम्झौतापत्रमा हस्ताक्षर गरे । सरकारका तर्फबाट वार्ता टोलीका संयोजक डा. सेनेन्द्रराज उप्रेतीसहित निमित्त शिक्षा सचिव लवदेव अवस्थी प्रधानमन्त्री कार्यालयका सचिव केदारबहादुर अधिकारीले हस्ताक्षर गरेका छन् ।

सम्झौताबारे समर्थक र विद्यार्थीसँग सल्लाह गरेर सोमबार मध्यान्ह अनशन तोड्ने केसीको तयारी छ । त्यसअघि ‘सोलिडारिटी फर केसी’ अभियानअन्तर्गत अख्तियार कार्यालय अगाडी एक घण्टा प्रदर्शन गर्ने कार्यक्रम छ ।

सम्झौता अघि दुबै वार्ताटोली र मध्यस्थकर्ताबीच विभिन्न चरणमा छलफल भएको थियो । सहमति जुटेपछि सरकारी वार्ता टोली प्रमुख उप्रेतीले सम्झौताको प्रति वाचन गर्दै केसीलाई अनशन तोड्न आग्रह गरेका थिए । चिकित्सकले केसीलाई स्वास्थ्य निकै नाजुक भइसकेकाले राति नै जुस खाएर आइसीयु सर्न आग्रह गरे पनि उनले समर्थक र विद्यार्थीसँग सल्लाह लिएर उनीहरुकै उपस्थितिमा सोमबार अनशन तोड्ने इच्छा दर्शाए ।

सम्झौतापछि केसीले सरकारसँग केही बुँदामा सम्झौता भएको र महत्वपूर्ण मागमा लडाई जारी रहेको बताए । –नागरिक दैनिकबाट