२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


डा.केसीले आज अनसन तोड्दै ,सरकारसँग चार बुँदे सहमति


0
Shares

काठमाडौं, साउन १० । चिकित्सा शिक्षा क्षेत्र सुधारको माग गर्दै अनसनरत प्राध्यापक डाक्टर गोविन्द केसीले आज १६ औं दिन अनसन तोड्दै छन् ।

सोमबार राति सरकारी वार्ता टोलीसँग चार बुँदे सहमति भएपछि केसीले आज अनसन तोड्न लागेका हुन् ।

चिकित्सा शिक्षा र स्वास्थ्य सेवामा व्याप्त भ्रष्टाचारविरुद्ध २०६९ सालदेखि सत्याग्रह आन्दोलन थालेका डा. केसीको यो अहिलेसम्मकै लामो अनसन हो ।

चारबुँदे सहमतिमा नेपाल स्वास्थ्य सहकारी संस्था लिमिटेडद्वारा प्रस्तावित स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको स्वयम्भूस्थित अस्पताल भवन र दहचोकको बेसिक साइन्स भवन स्व. मनमोहन अधिकारीको नाममा सञ्चालन हुने गरी चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानले किन्ने उल्लेख छ ।

सहमतिअनुसार अब सरकारी शिक्षण संस्थाहरुमा चिकित्साशास्त्र विषयको अध्ययनका लागि कम्तीमा ५० प्रतिशत सिट निःशुल्क हुनेछ ।

यो विषय चिकित्सा शिक्षा विधेयकमा समावेश गर्ने र यसलाई क्रमशः वृद्धि गर्दै ७५ प्रतिशतसम्म पु¥याइने छ । त्यस्तै, सबै प्रदेशमा कम्तीमा एउटा सरकारी मेडिकल कलेज स्थापना गर्ने विषय प्रस्तावित विधेयकमा समावेश गरिनेछ ।

विगतमा भएको सम्झौताको भावनाअनुसार काठमाडौं उपत्यकाभित्र दश वर्षसम्म मेडिकल, डेन्टल र नर्सिङमा नयाँ सम्बन्धन दिइने छैन ।

भ्रष्टाचार गरेको र मेडिकल माफियाको पक्षपोषण हुने गरी काम गरेको आरोप लगाउँदै अख्तियार प्रमुख लोकमानसिंह कार्कीलाई महाभियोग लगाउनु पर्ने डा. केसीको मागका सम्बन्धमा भने संसदको कार्यक्षेत्र भित्र पर्ने देखिएको र संसदमा प्रवेश पाइसकेकाले ठोस केही गर्नु नपर्ने उल्लेख गरिएको छ ।