
फाइल फोटो
नारायण न्यौपाने/भीष्मराज ओझा (रासस)
काठमाडौं, साउन १० । प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामापछि प्रमुख दलहरुले नयाँ सरकार गठनको गृहकार्यलाई तीव्रता दिएसँगै मुलुकले डेढ हप्ताभित्रै नयाँ प्रधानमन्त्री पाउने भएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रधानमन्त्री ओलीको राजीनामा स्वीकृत भइ नयाँ सरकार गठनका लागि बाधा अड्काउ फुकाउ आदेशसमेत जारी भइसकेको छ ।
नेपालको संविधानअनुसार राष्ट्रपतिबाट प्रारम्भमा सहमतिका आधारमा सरकार गठन गर्न ७ दिनको समयसीमा तोकेर आह्वान हुनेछ ।
तर, संविधान, संसदीय अभ्यास र परम्पराअनुरुप सहमतिको सरकार गठन गर्न राष्ट्रपतिबाट प्रदान गरिने ७ दिनको अवधिभित्र सहमतिको सरकार गठन गर्ने सम्भावना भने न्यून देखिएको छ ।
प्रधानमन्त्रीविरुद्ध नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा संयुक्तले व्यवस्थापिका–संसदमा अविश्वासको प्रस्ताव दर्ता गरेकाले दलहरुबीच तत्काल सहमतिको सरकार बन्ने सम्भावना न्यून देखिएको हो ।
साथै, संसदको सबैभन्दा ठूलो दल कांग्रेस बहुदलीय व्यवस्थामा बलियो प्रतिपक्ष हुनुपर्छ भन्ने मान्यतामा उभिएकाले पनि त्यो सम्भावना नरहेको पुष्टि हुन्छ ।
संसदको पहिलो ठूलो दल नेपाली कांग्रेस र तेस्रो ठूलो दल नेकपा माओवादी केन्द्रबीच नयाँ सरकार गठनका लागि ७ बुँदे सहमति हुनुले पनि दोस्रो ठूलो दल नेकपा एमाले प्रतिपक्षमा रहने पक्कापक्की जस्तै भएको छ ।
संविधानको भाग ३३ अन्तर्गत् संक्रमणकालीन व्यवस्थाको धारा २९८ मा राजनीतिक सहमतिका आधारमा प्रधानमन्त्रीको निर्वाचन सम्पन्न गरी निजको अध्यक्षतामा मन्त्रिपरिषदको गठन हुने प्रावधान छ ।
सहमतिका आधारमा सातदिनभित्र प्रधानमन्त्रीको चयन हुन नसकेमा राष्ट्रपतिबाट बहुमतीय आधारमा सरकार गठनसम्बन्धी संविधानको धारा उल्लेख गरेर प्रधानमन्त्री चयन गर्न संसदलाई पत्राचार हुने एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले जानकारी दिए ।
सहमतीय प्रक्रियामा ७ दिन, बहुमतीय प्रक्रियाको तीन दिन र यी प्रक्रियाका बीचमा दलहरुबीच छलफल गर्न दुई दिन गरी नयाँ प्रधानमन्त्री निर्वाचन हुन लगभग १२ दिन लाग्ने डेमोक्यार्टिक लयर्स एसोसिएसन (डीएलए)का पूर्वअध्यक्ष गोपालकृष्ण घिमिरे बताउँछन् ।
नयाँ सरकार गठनमा संवैधानिक सहजताका लागि सोमबारै राष्ट्रपति भण्डारीबाट बाधा अड्काउ फुकाउ आदेश जारी भइसकेको छ ।
मन्त्रिपरिषदको आइतबारको बैठकको सिफारिसमा नेपालको संविधानको धारा ३०५ बमोजिम बाधा अड्काउ फुकाउने आदेश जारी गर्नुभएको हो ।
कांग्रेसका प्रमुख सचेतक चीनकाजी श्रेष्ठ सम्भवतः छिट्टै राष्ट्रपतिले ७ दिनभित्र सहमतीय सरकार गठनका लागि दलहरुलाई आह्वान गर्ने बताउँछन् ।
संसद नियमावली, २०७३ को धारा ४९ मा प्रधानमन्त्रीको निर्वाचनसम्बन्धी व्यवस्था छ ।
नियमावलीअनुसार सरकार गठनमा सहमति हुन नसके प्रधानमन्त्रीको निर्वाचनसम्बन्धी सूचना निकालेर निर्वाचन तालिका प्रकाशन गरिनेछ ।
बहुमतीय अवस्थामा प्रधानमन्त्रीको निर्वाचन संसदमा तत्काल कायम रहेका सम्पूर्ण सदस्य संख्याको बहुमतबाट हुन्छ ।
समाजवादी जनता पार्टीका अध्यक्ष प्रेमबहादुर सिंह राष्ट्रिय सहमतिको सरकार गठन हुने सम्भावना ज्यादै न्यून रहेका हुँदा सहमतिको ७ दिन प्रक्रियामामात्र सीमित हुने बताउँछन् ।
आठौं दिनदेखि बहुमतीय प्रक्रियाका आधारमा प्रधानमन्त्री चयन हुने काम सुरु हुने भएकाले मुलुकले डेढ हप्ताभित्रै नयाँ प्रधानमन्त्री पाउने उनको धारणा छ ।
गत असार २८ गते माओवादी केन्द्रले वर्तमान सरकारबाट समर्थन फिर्ता लिएपछि नयाँ सत्ता गठबन्धनको कसरत सुरु भएको थियो ।
प्रतिक्रिया दिनुहोस्