
काठमाडौं, साउन ११ । अविरल वर्षाका कारण देशैभरको जनजीवन प्रभावित भएको छ । देशका अधिकांश ठूला नदीको पानीको सतह बढेको छ ।
काठमाडौं उपत्यकासहित देशका अधिकांश स्थानमा सोमबार दिउँसोदेखि लगातार वर्षा भइरहेको छ ।
जसका कारण तराईका अधिकांश भाग डुवानमा परेका छन् । जल तथा मौसम विभागले आज पनि मध्य तथा पश्चिमी क्षेत्रमा दिनभर नै ठूलो वर्षा हुनसक्ने सम्भावना रहेको जनाएको छ ।
जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानूमान महाशाखाका अनुसार ललितपुरको खोकनामा बागमती, झापामा कन्काई र सिन्धुपाल्चोकमा भोटेकोसीको पानीको सतहले चेतावनी तह पार गरेको छ ।
यस्तै कन्काई, कोसी, बागमती, नारायणी, तिनाउ र कर्णाली नदीमा पनि पानीको सतह बढ्दै गएको शाखाले जनाएको छ ।
सोमबार दिउँसोदेखि नै पानी परेपछि सेती, कालीगण्डकी, विनय खोला, अरुण खोला, राप्ती, बबई, भेरी, मोहनालगायतका खोलामा बाढी आएकाले तटीय क्षेत्रमा विशेष सतर्कता अपनाउन आग्रह गरिएको छ ।
त्यसैगरी तराईका बासिन्दालाई आज दिनभर नै उच्च सतर्कता अपनाउन शाखाले आग्रह गरेको छ । यस्तै नदी जलाधारका पहाडि क्षेत्रमा तथा भिरालो जमिनमा पहिरोको जोखिम रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्