जुम्ला, साउन ११ । जुम्लाका चन्दननाथ नगरपालिका–२ भण्डारीवाडा र आचार्यबाडा गाउँ किसानका सात दर्जन पशुबस्तुमा फौजी कुकुरको समूहले क्षति पुर्याएको छ ।
चैत महिनादेखि फौजमा आउने कुकुरले शृङ्खलाबद्ध रुपमा यसरी पशुबस्तु मार्न थालेपछि स्थानीय गोठालामा कुकुर आतङ्क छाएको छ । अहिलेसम्म भण्डारीवाडा गाउँका पहिचान भएका १४ जना किसानका १७ गाईगोरु मारेको र सख्त घाइते बनाएको स्थानीय दीपबहादुर मल्लले जानकारी दिए ।
‘यी सामान्य पहिचान भएका पशुबस्तु मात्र हुन्, पहिचान नभएका कति छन् कति, यकिन गर्न सकिएको छैन,’ मल्लले भने । आफ्नैमात्र ६ गाई फौजी कुकुरले मारेको र दुई घाइते बनाएको उनले बताए ।
‘यो समस्या गत सालदेखिको नै हो, फौजी कुकुरलाई मार्न स्थानीय प्रशासनमा निवेदन दिँदा त्यसको कुनै सुनुवाइ गरिएन र झन यो समस्या अहिले बल्झियो,’ उनले भने ।
आचार्यबाडाका कर्णसिंह कुलालले फौजी कुकुरको आक्रमणबाट मर्ने गाईगोरुको सङ्ख्या ९० पुगेको बताए । उनले भने, ‘आफ्नो रु २३ हजारको गोरु कुकुरले मारे तर दर्जनौँ किसानले त्यसभन्दा बढी क्षति व्यहोर्नुपरेको छ ।’
उनका अनुसार कुकुरको समूहले रु १० लाख बराबरको क्षति पुर्याइसकेको छ ।
‘समूहमा आएका फौजी कुकुर आक्रामक भएर गाईगोरुमाथि आक्रमण गर्छन्, लखेट्न खोज्दा मान्छेमाथि नै आइलाग्छन्, मरिने डरले आफू पनि भाग्नुपर्छ,’ पीडा व्यक्त गर्दै स्थानीय किसान नन्दराम महताराले भने ।
‘यत्रो क्षति भइसक्दा पनि न नगरपालिकाले हेरेको छ, न प्रशासनले, न त यहाँका अन्य सरोकारवाला नै,’ उनले दुखेसो गरे ।
फौजी (भुस्याहा) कुकुरले मच्चाएको आतङ्कका विषयमा आफू जुम्ला आइपुगेको चार महिनासम्म कुनै जानकारी नभएको जिल्ला प्रशासन कार्यालय जुम्लाका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले जानकारी दिए । प्रजिअ पण्डितले भने, ‘हामी समस्यामा पर्यौँ र कुकुरले क्षति पुर्यायो भनेर स्थानीयवासी यहाँ अहिलेसम्म कोही पनि आएको छैन ।’
यदि स्थानीयवासीले त्यस समस्याका विषयमा निवेदन दिएको खण्डमा चन्दननाथ नगरपालिकालाई तत्काल देखिएको समस्या सुल्झाउन निर्देशन दिने र जिल्ला प्रशासन कार्यालयले त्यसमा पूर्ण सहयोग गर्ने उनको भनाइ थियो ।
तिनै भुस्याहा कुकुरका कारण जङ्गली रतुवा मृग शनिबार लखेटिएर चन्दननाथ नगरपालिका–२ आचार्यबाडा गाउँमा झरेको थियो । (रासस)









प्रतिक्रिया दिनुहोस्