पोखरा, साउन ११ । अविरल वर्षाका कारण पोखराका विभिन्न क्षेत्र डुवानमा परेका छन् । बाढीका कारण ३० घर विस्थापित भएका छन् । सोमबारदेखिको लगातारको बर्षाले पोखराको छोरेपाटन र रामघाट क्षेत्र डुवानमा परेका छन् ।
छोरेपाटनमा पानीको निकास नहुँदा झन्डै २० घर डुवानमा परेका छन् । सेती नदीमा पानीको वहाव बढेपछि रामघाट क्षेत्र जलमग्न भएको छ ।
पानीको सतह बढेपछि सेती किनारका वासिन्दा विस्थापित भएका छन् । कास्कीकै कसेरीमा सेती नदीको बहाव बढेपछि ३० घर जोखिममा परेका छन् ।
जोखिमयुक्त घरका बासिन्दालाई अहिले अन्यत्र सारिएको प्रहरी नायब उपरिक्षक गजुसिद्धी बज्राचार्यले जानकारी दिए ।
वर्षाका कारण पहिरो जाँदा आज विहान केहीबेर अबरुद्ध भएको पोखरा–बाग्लुङ राजमार्ग भने एकतर्फी सञ्चालनमा आएको प्रहरीले जनाएको छ । विभिन्न तीन स्थानमा गएको पहिरो हटाएपछि राजमार्ग सञ्चालनमा आएको हो ।
यता, अविरल बर्षासँगै मादी नदीमा आएको बाढीले कास्कीको पार्चे गाविस–१ सोधा गाउँका थप तीन घर बगाएको छ । बर्षासँगै मादी नदी उर्लिएर बस्ती नै बगाउने गरि कटान गरेको हो ।
नदीले अशोक भुजेल, बालसिंह भुजेलको घर बगाएको छ भने गाउँघर क्लिनिक र विद्यालयका पुरानो भवन बगाएको प्रहरीले जनाएको छ ।
आसमाया गुरुङ, पुष्पा गुरुङ, गोपाल गुरुङ, तुलसी घर्ती, चित्रकुमारी गुरुङ र भौमाया क्षेत्रीको घर भने जोखिममा परेको छ । बाढीले खेतीयोग्य जमिन समेत कटान गरेको छ ।









प्रतिक्रिया दिनुहोस्