२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


पहिरोले विभिन्न राजमार्गमा यातायात अवरुद्ध


0
Shares

काठमाडौं, साउन ११ । केही दिन यता देशभर जारी वर्षाका कारण विभिन्न राजमार्गमा पहिरोले यातायात अवरुद्ध भएको छ ।

ट्राफिक प्रहरी महाशाखाका अनुसार फर्पिङ्गको कुलेखानी—फाखेल र दक्षिणकाली–सिस्नेरी सडकखण्ड हुदै संचालन हुने सवारी साधनको आवागमन मंगलबार बिहानैबाट अवरुद्ध भएको छ । दुई दिनदेखिको निरन्तर बर्षाको कारण पहिरो झरेकोले सवारी आवागमन अवरुद्ध भएको हो ।

त्यस्तै म्याग्दीको दरवाङ्ग–६ स्थित घट्टेखोलामा पानीको बहाव बढेर सवारी साधनको आवत जावतमा केही समस्या भएको छ ।

बेनी नगरपालिका–७ जलेश्वरस्थित बेनी–जोमसोम सडकखण्डमा पनि पहिरो खसेर बाटो पुर्ण अवरुद्ध भएको छ । बिहान ६ बजेबाट अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको स्थानीय प्रहरीले जनाएको छ ।

त्यस्तै बेनी–१३ को घुमाउने भिर र बाबियाचौर–५ लामपाटास्थित बेनी–दरवाङ्ग सडकखण्ड पनि पहिरोकै कारण अवरुद्ध भएको छ ।

कपिलवस्तुको शिवराज नगरपालिका–१ चोरखोलास्थित महेन्द्र राजमार्गमा पहिरो खस्दा बिहानैबाट सवारी आवागमन अवरुद्ध भएको छ ।

पासाङ्ग–ल्यामु राजमार्गको विभिन्न स्थानमा बिहानै झरेको पहिरोका कारण सवारी अवागमन अवरुद्ध भएको छ । टिमुरे गाविसका ३ वटा वडा तथा फ्याङलुङ्ग खोला नजिकै र रसुवागढीमा पहिरो झरेका कारण आवागमन अवरुद्ध भएको हो ।

सिन्धुपाल्चोकको कदमबास–७ स्थित अरनिको राजमार्गको बलेफी सडक र मांखा–१ स्थित जुरेमा पनि बर्षासँगै झरेको लेदो माटोका कारण सडक पुर्ण रुपमा अवरुद्ध भएको छ ।
दोलखाको लाकुरीडाँडास्थित झिंगानेमा पहिरो झर्दा चरिकोट–काठमाडौं संचालन हुने सवारी साधन पनि बिहानैबाट अवरुद्ध भएको छ ।

सुर्खेतको लेख पराजुली–६ स्थित सत्तरीमा पहिरो खस्दा सुर्खेत–नेपालगंज सडकखण्ड पनि आज बिहानैबाट अवरुद्ध भएको छ ।

भोजपुरको तिवारी भन्ञ्याङ्ग ५ स्थित आईतबारेमा पहिरो खसेर भोजपुर—लेगुवा सडक खण्ड अवरुद्ध भएको छ । बिहान करिब साढे ७ बजेबाट पहिरो झरेर बाटो अवरुद्ध भएको भोजपुर प्रहरीले जनाएको छ ।

अविरल वर्षाकै कारण पहिरो झरेकाले पाचँथरको फिदिम नगरपालिकास्थित मेची राजमार्ग पनि अवरुद्ध भएको पाचँथर प्रहरीले जनाएको छ । स्थानीय बासिन्दा र डोजरको सहायतामा पहिरो हटाउने कार्य भईरहेको जनाइएको छ ।