२१ असार २०८२, शनिबार | Sat Jul 5 2025


सप्तकोसीमा पानीको बहाव बर्षकै उच्च


0
Shares

सुनसरी, साउन ११ । हप्ता दिनदेखि सप्तकोसी नदीमा पानीको बहाव निरन्तर बढेपछि सप्तकोसीमा पानीको बहाव यो बर्षकै उच्च भएको छ ।

आज १० बजे सप्तकोसीमा गरिएको पानीको बहाब मापन गर्दा प्रतिसेकेण्ड २ लाख ६४ हजार ७ सय क्युसेक पुगेको सुनसरीका प्रहरी प्रमुख एसपी पोषराज पोखरेलले जानकारी दिए ।

पानीको बहाव बढेपछि कोसी व्यारेजका ५६ मध्य ३५ ढोका खुल्ला गरिएको छ । सामान्य तथा सप्तकोसीमा पानीको बहाव १ लाख ५० हजार क्यूसेक नाघेपछि खतरा मानिन्छ ।

सप्तकोसीमा पानीको बहाव उच्च हुँदासमेत भारत सरकारले कोसी ब्यारेजका सबै ढोका खोल्न आनाकानी गरेको छ ।

सप्तकोसीमा पानीको बहाव उच्च भएपछि कोसी व्यारेजको दुबैतर्फ खतराको संकेत स्वरुप रातो बत्ती बालिएको छ ।

पानीको बहाव उच्च हुँदासमेत भारत सरकारको नियन्त्रणमा रहेको कोसी व्यारेजका सबै ढोका नखोलिएपछि सुनसरीका महेन्द्रनगर, प्रकाशपुर, मधुवन, श्रीपुर, हरिपुरलगायतका सर्वसाधारण आतंकित भएको कोसीपीडित संघर्ष समितिका सचिव बाबुराम कार्कीले बताए ।