२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


गन्डक ब्यारेजको सबै ढोका खोलियो, उच्चसतर्कता अपनाउन आग्रह


0
Shares

                                                                     फाइल फोटो
नवलपरासी, साउन ११ । नवलपरासीस्थित गन्डक नहरमा पानीको बहाब उच्चखतरामा पुगेपछि यतिबेला गन्डक ब्यारेजको सबै ढोका खोलिएको छ ।

नारायणी नदीमा पानीको बहाब बढ्दै गएपछि गन्डक बाँध नै फुट्ने खतरा बढेका कारण सो पानी भारततर्फ बगाउन गन्डक ब्यारेजको सबै ढोका खोलिएको हो ।

नवलपरासीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थकाअनुसार नारायणी नदीमा पानीको बहाबले खतराको बिन्दूसमेत नाघेपछि उच्चसतकर्ता अपनाउन गन्डक ब्यारेजको सबै ढोका खोलिएको हो ।

नारायणी नदीमा गरिएको पछिल्लो पानी मापनअनुसार ९ दशमलव ४१ मिटर रहेको देबघाटस्थित जल मापन केन्द्रलाई उद्धृत गर्दै जिल्ला प्रशासन कार्यालय नवलपरासीले जनाएको छ । ८ दशमलव ४ मिटर हुँदा नारायणी नदी क्षेत्रमा पूर्णरुपमा खतराको संकेत हुन्छ ।

नदीमा पानीको बहाव बढ्दै जाँदा जल मापन प्रविधिमासमेत प्राविधिक समस्या आएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

गन्डक ब्यारेजको सबै ढोका खोलिएपनि नदीमा पानीको बहाव निकै रहेकाले स्थानीय प्रशासनले उच्चसतर्कता अपनाउन आग्रह गदै नदी किनार आसपासका बासिन्दालाई तुरुन्त सुरक्षित स्थानमा स्थानान्तरण हुन सूचित गरेको छ ।

अहिले यस क्षेत्रमा सुरक्षाकर्मीको परिचालन बढाइएको छ । सहायक प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढुंगानाले नदी किनार आसपासमा साइरन बजाइ स्थानीयलाई सुरक्षित स्थानमा जान आग्रह गरिएको बताए ।

नारायणी नदीमा आएको बाढीले नवलपरासीको दक्षिण भेगका नर्सही, कुडिया, पक्लिहवा, गुठी प्रसौनी, प्रतापपुर, गुठी सूर्यपुरालगायतका १३ गाविस बाढीको उच्चजोखिममा रहेका छन् ।

नवलपरासीको त्रिवेणीमा भारतीय पक्षले बाँधेको बाँधका कारण पानीको सतह खतराको संकेतभन्दा माथि पुगेको हो ।

पहाडी जिल्लामा तीन दिनदेखि लगातार परेको अविरल वर्षाका कारण गन्डकी–नारायणी नदीमा पानीको बहाव उच्च भएको हो । रासस