Logo १९ आश्विन २०८३, सोमबार | Mon Oct 5 2026


१०२ वटा मासु पसलमध्ये ९ वटामा मात्र खानयोग्य मासु


0
Shares

काठमाडौं, साउन १२ । काठमाडौं उपत्यकाका एक सय दुईवटा मासुपसल अनुगमन गर्दा नौवटा मासु पसलबाट बेचिने मासुमात्र खानयोग्य रहेको फेला परेको छ ।

पशुपन्छी मन्त्रालयले हालै काठमाडौं, भक्तपुर र ललितपुरका यी मासुपसलमा अनुगमन गरी गुणस्तर परीक्षण गरेको थियो । मन्त्रालयले विशेषज्ञ टोली खटाएर अनुगमन गर्दा यी मासुपसलबाट बेचिने कुखुरा, खसी, राँगा र बुंगुरको मासु मानव स्वास्थ्यका लागि घातक भएको पत्ता लागेको हो ।

अनुगमनका क्रममा अत्याधुनिक भौतिक पूर्वाधार तथा साजसज्जासहित सञ्चालनमा रहेका मासुपसलबाट बेचिने मासु पनि गुणस्तरहीन फेला परेको हो ।

अनुगमन टोलीले उपत्यकाका अधिकांश मासु पसलबाट बेचिने मासु ‘खान लायक नभएको’ भन्दै मंगलबार पशुपन्छी राज्यमन्त्री नरदेवी पुन मगर र सचिव कृष्णचन्द्र पौडेललाई प्रतिवेदन बुझाएको छ ।

एक सय दुई पसलमध्ये ६२ वटा पसलबाट बेचिने मासुमा कम परिमाणमा एन्टिबायोटिक औषधिको अवशेष भेटिएको प्रतिवेदनमा उल्लेख छ । बाँकी पसलबाट बेचिने मासु मानव स्वास्थ्यका लागि निकै हानिकारक भेटिएको मन्त्रालयका सचिव पौडेलले बताए ।

‘प्रतिवेदनले केवल १० प्रतिशत पसलको मासुमात्रै खान योग्य देखाएको छ, बाँकी ९० प्रतिशत पसलबाट उत्पादित मासु खान अयोग्य भेटियो,’ उनले भने, ‘खान अयोग्य भेटिएका मासुपसललाई चाँडै कारवाहीको दायरामा ल्याउँछौं ।’ –अन्नपूर्ण पोस्ट दैनिकबाट