१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


बाङ्गो ढाड यसरी सोझ्याइदिए डाक्टरले


0
Shares

काठमाडौं, साउन १२ । सुन्दा अचम्म लाग्न सक्छ तर जन्मदैं बाङ्गो डाढ भएकी एक बालिकाको ढाड डाक्टरले सोझ्याइदिएका छन् । शल्यक्रियामार्फत बालिकाको डाढ सोझ्याइएको हो ।

८ बर्षकी निमा लामा काभ्रे जिल्लाबाट बाबा काजिमान लामा र आमा शुष्मा लामासँग काठमाडौं आएकी हुन् । उनी काठमाडौं सामाखुसीमा रहेको रेडन स्कुलमा कक्षा तीनमा पढ्छिन् । जन्मदाखेरी नै उनको ढाड बाङ्गो भएकोले उनी आफ्नो बाङ्गो ढाडको उपचारका लागि बाबा आमासँग ग्राण्डि अन्तर्राष्ट्रिय अस्पताल आएकी हुन् ।

बाबा आमाले काभ्रेस्थित एक अस्पतालमा उनको स्वास्थ्य परिक्षण गराएका थिए । त्यहाँका डाक्टरले निमाको जटिल शल्यकृया गर्नुपर्ने र यसका लागि सुबिधा सम्पन्न अस्पतालमा लैजान परामर्श दिए ।

निमाका बाबु आमालाई उनीहरुका एकजना आफन्तले काठमाडौंको धापासीमा रहेको ग्राण्डि अन्तर्राष्ट्रिय अस्पतालमा यस किसिमका जटिल शल्यकृयाहरु सम्भव रहेको र यहाँ आएर डा बिनोद बिजुक्छेलाई जचाँउनका लागि सल्लाह दिएकी थिइन् ।

सोही सल्लाह बमोजिम उनीहरुले डा. बिजुक्छेसँग भेटेर निमाको उपचारबारे छलफल गरी निमाको शल्यकृयाको निर्णय गरेका थिए । शल्यकृयाका जटिलता र सम्भावित खतराहरुबारे डाक्टरहरुको टिमले उनीहरुलाई स्पष्ट जानकारी गराएको थियो ।

चिकित्सकहरुको ढाडस र आत्मविश्वास पछि आफुहरुले छोरीको उपचार आफ्नै देशको अस्पतालमा नै गराउने निर्णय गरेको निमाका बाबु काजिमान लामाले जानकारी दिए ।

उपचार टोलीको नेतृत्व गरेका ग्राण्डि अन्तर्राष्ट्रिय अस्पतालको स्पाइन सर्भिसेजका निर्देशक डा बिनोद बिजुक्छेले निमाको ढाडको बाङ्गोपना जन्मसँगै शुरु भएको र यसलाई चिकित्सकीय भाषामा ‘अर्ली अनसेट स्कोलियोसिस’ भनिने बताए ।

उनका अनुसार पाँच बर्षभन्दा कम उमेरका बालबालिकामा ढाड बाङ्गिने समस्या देखिएमा त्यसलाई अर्ली अनसेट स्कोलियोसिस भनिन्छ ।

निमामा यो समस्याले उनको फोक्सोको बिकासमा असर पुर्‍याउने खतरा निम्त्याएको थियो । बढ्दो उमेरसँगै ढाड बाङ्गिने क्रम बढेर मुटु र फोक्सो थिचिने र त्यसले उनको जीवनको अवधि कम गर्ने र मृत्यु हुने खतरा रहेको समेत डा बिजुक्छेको भनाई छ ।

यस समस्याको उपचारमा बिशेष गरी ढाडलाई थप बाङ्गो हुनबाट बचाउनुपर्ने हुन्छ, बच्चाको उचाई बढ्दै जाने भएकाले त्यसलाई पनि समायोजन गर्दै लैजानुपर्ने हुन्छ । यससँगै फोक्सो बस्ने घरलाई पनि फराकिलो बनाउनुपर्ने हुन्छ जसले गर्दा फोक्सोले बढ्ने ठाँउ पाउँछ र सबैभन्दा प्रमुख कुरा उसको जीवन सहज बनाउनु हो ।

यसबाट बचाउन निमाको उपचार यथासक्य छिटो शुरु गर्नुपर्ने बाध्यता थियो । ‘उनको उपचारको क्रममा हामीले निकै अध्ययन गर्‍यौं र नेपालमा नै पहिलोपटक उनलाई ग्रोइङ रड प्रबिधिवाट उपचार गर्‍यौं,’ डा बिजुक्छेले भने ।

यो रड अत्यन्त महँगो छ, ब्यापारीक रुपमा उपलब्ध ग्रोइङ रड एउटामात्रको मूल्य बीसलाख जति पर्न आउने भएकाले यो आम नेपालीको पहुँचमा छैन । ‘त्यसैले हामीले आफ्नो परिवेश र समाज सुहाँउदो र सुलभ किसिममा यस प्रबिधिलाई परिस्कृत गरेका छौं । यो हाम्रो आफ्नै डिजाईन हो । ग्राण्डि अस्पतालमा हामीले यो शल्यकृया करिब तीन लाख रुपैँयामा गर्न सफल भयौं ।’ डा बिजुक्छेले भने ।

उनले भने, ‘यसै प्रबिधिबाट हामीले शल्यकृया गर्‍यौं र शल्यकृयापछि निमालाई सास फेर्न सजिलो भएको छ, उनको ढाड सिधा भएको छ, उनको उचाई पनि करिव पाँच सेन्टिमिटर बढेको छ, लामो छोटो रहेका गोडाहरुपनि बराबर भएका छन् र उनलाई हिड्न सजिलो भएको छ ।’

यस पछिको निरन्तर उपचारमा हरेक ६/६ महिनामा निमालाई सानो अप्रेशन गरेर उनको ग्रोइङ रडलाई लामो पार्नुपर्छ र यो क्रम उनको उचाई बढ्नेक्रम नरोकिएसम्म करिव १२/१३ बर्षको उमेरसम्म जारी रहन्छ । बिदेशमा गएर ग्रोइङ रड प्रबिधिवाट उपचार गराउदा पनि यसै प्रकृयाबाट गरिन्छ ।

‘एकै पटक रड तन्काएर राख्दा भने उनको उचाई नबढ्ने र नसाहरुमा समस्या देखिन्छ त्यसैले बढ्दो उमेरसँगै चरणवद्ध र सन्तुलित रुपमा रडलाई तन्काउनु पर्ने हुन्छ,’ डा बिजुक्छेले भने ।

निमाको उपचारमा डा बिनोद बिजुक्छेसँगै डा जाबेद अहमद खान र डा प्रशान्त अधिकारीको संलग्नता रहेको थियो भने एनेस्थेसियामा डा मुरारीराज उप्रेती र डा अर्चन अधिकारीले साथ दिएका थिए ।